नाक कसरी ठाडो हुन्छ?

मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो कुमलाई उसको कुमले जित्यो। पछि त मैले नाप्नै छाडीदिए।

म एउटा घरमा काम गर्ने मान्छे थिए । घरमा एउटी आइमाई थिइन जसलाई म आमा भन्थे । आमा दुष्ट थिइनन् तर दयालु पनि थिइनन्। उनको अगाडी त म भँगेरी झै लाग्थे। उनी अग्ली मोटी खाइलाग्दी जीउ भएकी थिइन। उनी आफ्ना ठुला ठुला आँखामा सधै गाजल लाउँथिन। उनको ओठ लिपस्टीक लाएपछि सार्है् राम्रो देखिन्थ्यो, अरू बेला तिनी मलाई त्यहि ओठ चलाएर गाली गर्ने भएकाले पटक्कै मन पर्दैनथ्यो। उनी प्रायसो गाढा रातो रङ्गका लिपीस्टक लाउँथिन। उनको हातमा सधै रातो चुरा हुन्थ्यो, त्यहि चुरा बजेपछि बिहानीमा मेरा आँखाहरू खुल्थे तर उनले उठाउन नआइकन मैले आफै उठ्ने जाँगर कहिल्यै चलाइन। उनलाई म सताउँथे, एकपटकमा उठि्दनथे। त्यतिखेर उनी कस्तरी कराउँथीन्, ‘देवी’

‘हजुर’, उनी त्यति जोडले बोल्दा मलाई पनि चिच्याएर भन्न मन लाग्थ्यो तर मेरो स्वर यति मसीनो थियो कि उनी म उनीदेखि डराएको भन्ठान्थीन् ।

मेरो लिखुरे शरीर, मसीना मसीना कर्चिजस्ता हात खुट्टा, साना साना पातला ढकनी भएका आँखा, पातला काला ओठहरू, पातलो तालु देखिने अखरक्क परेको केस !! मेरो कुनै पनि कुरा राम्रो आहा भन्ने खालको थिएन ।

आमा श्रृङ्गागार गरीसकेपछि निकैबेर ऐना हेर्थिन । लामो सीउँदोमा धेरै सीन्दुर लाउँथीन । उनीसंग थुप्रै किसीमका पोते थिए। सीसा भएको देखिने दराजमा तीनले ती सबै मिलाएर राखेकी थिइन । उनी पोते फेरी फेरी लाउँथीन् । उनका नङ्गहरू च्याप्टा थिए । त्यसमा पनि उनी सधै गाढा रातो रङ्गको नङ्ग पालिस लाउँथीन् । म उनको पछिल्तिर उभिएर अरू नै केही हेरेजस्तो गरेर उनले श्रङ्गार गरेको हेरीरहन्थे ।

मैले हेरेको कुरा उनले थाहा पाउनु मेरो लागि खतरनाक कुरा थियो । उनले त्यसो गरेको मन पराउनदिनथिन्, उनी एकदम रीसाही आइमाइ थिइन ।

म पनि श्रङ्गगार गर्थे, मलाई लाग्थ्यो गाजल, लिपस्टीक, चुरा, टिका लाए भने म पनि अलि राम्री हुन्थे होला ! गाजल लाउँथे, लिपस्टीक उनले दिन्नथिन्। चुरा ल्याइदिएकी थिइन, कालो हातमा कालो चुरा ! चुरा र हातमा खासै फरक थिएन। उनी मलाई बजार लान मन पराउन्नथिन्, म भने बजार जाने भनेपछि हुरूक्क हुन्थे। पहिलो चोटी उनी चुरा लिन एक्लै गएकी थिइन। मेरै चुरा लिन त होइन, उनको आफ्नै काम थियो।

बाह्र तेह्र बर्षकी केटीका लागि पसलेसंग चुरा माग्दा पसलेले दिइ पठाएको चुरा मैले अलि बल गर्थे भने घाँटीमा छिर्थ्यो , त्यसलाई मैले माला बनाएर लाउन मिल्थ्यो। म कती सानी थिए, ठ्याक्कै भँगेरा जत्री। सात बर्षमा पनि म सात बर्ष जत्रै थिए भने उत्रै थिए म तेर्ह बर्षमा पनि। मैले आफ्नो स्वरुपमा चित्त बुझाउन थालीसकेको थिए। मसंग अर्को उपाय पनि त थिएन नी ! तर मेरो नाक अलि राम्रो बनाउन सक्छु कि भनेर मैले हदैसम्मको कोशिस गरे।

मेरो नाक अनुहारमै सुतेको थियो। नाकका पोराहरू मुश्किलले उठेका थिए, मेरो नाकको डाडी नै थिएन। कस्तो हाँस उठ्दो थियो। त्यसलाई त नेपो मात्र भन्दा पनि कम हुन्थ्यो। यो एउटा नाकले मलाई बाँदर जस्तो बनाएको थियो। म आफै पनि आफुलाई ऐनामा बाँदर जस्तो देख्थे। त्यसैले हरेक विहानीमा म मेरो सुतेको नाकको टुप्पोलाई बुढि र चोर औलाको मद्दत्तले समातेर माथिपट्टि तान्थे। कहीले काही आमाले तलबाट बोलाउँदा माथि म उनले सीन्दुर लाउँदा हेर्ने सानो ऐनामा हेर्दै नाक तानीरहेको हुन्थे।

‘देवी’, उनी तल भान्छाबाट चिच्याउँथीन्।

म दौडदै तल आउँथे, उनको अगाडी पुग्दा मेरो सास बढेको हुन्थ्यो।

‘के गर्दै थिइस् माथि?’, उनी आँखा तर्थिन। उनका आँखाहरू गाजल लाउँदा पनि चम्किने खालका भने थिएनन, सुख्खा, रूँदा पनि नभिज्ने जस्ता !

‘म नाक तान्दै थिए’, मैले यसो भनेको भए तिनको मनमा झट्ट के आउँथ्यो होला? तीनी हाँस्थीन् या जिल्ल पर्थिन? रीसाउन चाँही रीसाउन्नथीन् किनकी मान्छेहरू आफुले कहिल्यै नसोचेको कुराको बारेमा पहिलोचोटी थाहा पाउँदा रीसाउनै सक्दैनन्। उनी रीसाइरहने आइमाइ भएकाले हाँस्ने भन्दा पनि जील्ल पर्थिन होला। दोस्रो चोटीदेखि त उनले मलाई हपार्ने कुरा त पक्का थियो। म उनलाई सधै केही न केही भनेर ढाट्थे, कहिले उनी पत्याए झै गरेर हेर्थिन त कहिले नपत्याए झै।
मेरो पढाइ राम्रो थिएन, अंग्रेजीमा त सधै फेल। स्कुलबाटै म गोठाला जान्थे, बेलुका फर्केपछि मलाई पढ्न पटक्कै मन लाग्दैनथ्यो। बुइगलमा जाने भर्यागङ्गगको तल मेरो ओछ्यानमा म किताब लिएर पढेजस्तो गर्दागर्दै निदाउँथे। आमालाई पढ्न आउँदैनथ्यो, उनी मुश्किलले आफ्नो नाम कमला लेख्न सक्थिन। मलाई केही नआउँदा सोध्ने मान्छे कोही हुदैनथ्यो।

म भाँडा माझ्थे, गोठ सफा गर्थे, घाँस ल्याउँथे, गोठाला जान्थे । घर पछाडीको खोला, खोला पछाडीको बनमा विहानै घाँस लिएर आएपछि म स्कुल जान्थे ।

तेर्हआ बर्षमा म तीन कक्षामा पढ्थे तर पनि म कक्षामा सबैभन्दा सानी थिए । आमाले खानेकुरामा भने मेरो खुब ख्याल राख्थिन । बिहान चियासीत केही न केही दिन्थिन्, प्रायसो चिउरा या मकै। दुबै नभएको दिन बिस्कुट। केही नख्वाइ उनी मलाई घाँसा पठाउन्न थिन् । दिउँसो पनि स्कुलमा खाजा खानका लागि उनले मलाई दिनहु दुई रूपीया दिन्थिन । एक रूपीयाको म तीतौरा खान्थे, एक रूपीया खुत्रुकेमा खसाल्थे ।

बेलुका दुधको तर खान्छेस् भनेर सोध्थीन् । मलाई तर मन पर्दैनथ्यो, उनी भने तरमात्र संग पनि धेरै भात खान्थिन । तर नै नखाएकाले पो म यति सानी भएकी हुँ कि जस्तो पनि लाग्थ्यो कहिले काही त !

मेरी स्कुलकी साथी रमिता मेरो नाक उठाउने मेरो प्रयत्नमा मेरो साथमा थिइ । बाँकी अरू कोही थिएनन् । ऊ मेरो मद्दत्त गर्न चाहन्थी, किन? मैले सोधिन । एक त मजस्ती भँगेरीसँग कोही खेल्न, कुरा गर्न पनि मान्दैनथे, अर्को मेरो नाकले गर्दा पनि साथीहरू मबाट टाढा हुन्थेजस्तो लाग्छ मलाइ । म आफै पनि त नाक नेपो र हेर्दा बाँदर जस्तो देखिनेसँग पक्कै पनि साथी हुन्थिन । मेरो उमेरका कोही पनि मेरो साथी थिएनन्, रमिता भर्खर छ बर्षकी थिइ ।
मेरो उमेरका साथीहरूलाई त उनीहरूका आमाले अब त ठुली भइस भनेर उफ्रन कुद्न पनि मनाही गरेका थिए । कहिले काँहि आमा पनि मलाई त्यस्तै भन्न खोज्थिन । म सडकमा लापरवाह दौडेको देख्दा तिनको आँखा रीसले फाटेको म देख्थे तर म भँगेरीलाई तीनी कसरी तँ ठुली भइस अब नकुद् भन्न सक्थिन र?

बर्षातका दिनहरू सकिएका थिएनन्, खोला बढेको थियो । घर सडक मास्तिर थियो । मान्छेहरू फाट्फुट हिडिरहन्थे । बिहान र बेलुकी त बजार जाने गाडी पनि चल्थ्यो । बाटा र आँगनमा पानी जमेको थियो । घर अगाडीको ठुलो सीसौको रूखका पातहरू भने गाढा हरीयो भएर आएको थियो। आँगनको डिलमा झारहरू बढेका थिए। घर पछाडी पनि झारहरू बढेका थिए, तिनमा जुका लाग्थ्यो । बनमा पनि चिप्लेर लड्न सकिन्थ्यो, आमा सधै मलाई बन जाने बेलामा सतर्क हुन भन्थिन् ।

यो मौसम पछि दशैं आउने हुनाले रमाइलो भने लाग्न थालेको थियो । आमाले मलाई पाइन्ट किनीदिने भएकी थिइन, मसंग एउटा पनि पाइन्ट थिएन। पाइन्ट लाउने खुशिमा र स्कुलमा पनि लामो विदा हुने भएकाले मैले मेरो नाकलाई पनि बिर्सिसकेको थिए । नाक नेपो नै भएपनि पाइन्ट लगाउँदा म राम्री नै देखिन्छु भन्ने मलाई पक्का थियो ।

बाहीर पीढिमा एउटा बेन्च थियो, त्यो बेन्चमा म गोठालाबाट फर्केर आउँदा आमा प्राय टोल्हाएर बसीरहेकी हुन्थिन । आमा नभएको बेला म पनि कहिले काँहि त्यहि बेन्चमा बसेर सडकमा मान्छे हिडेको हेर्थे र लामो सलक्क परेका नाक भएका मान्छेहरू देखेपछि फेरी आफ्नो नाक तान्थे ।

एउटा साँझमा म गोठालाबाट फर्केपछि आमा नभएको मौका पारेर बेन्चीमा बसे । म र रमिता भएर दिनभर हामीले मेरो नाक तान्यौ । रमिताले खुब जोडसँग मेरो नाक तानेकी थिइ । मैले दुखे पनि अइया भनिन् । नाक उठ्ला कि भनेर मैले सहे । तर घर आएर नाक हेर्दा नाक रातो मात्र भएछ, अलिकति पनि उठेनछ, कमसेकम अलिकति त उठ्नुपर्ने ! कोशिस गरेको पनि महिनौं भइसक्यो ।

बजारबाट फर्केको गाडी रोकियो । छिमेकी कान्छा बाजे गाडीबाट झरे । मलाई यी बाजे कत्ति पनि मन पर्दैन । उनले मलाई बाँदरनी भनेर बोलाउँछन् । मलाई आफ्नो नाक उठाएर यी बाजेलाई पनि देखाउनु छ । बाजेसँग अरू कोही पनि थियो । रातो भेस्ट लगाएको एउटा केटो ! केटोको ढाड मात्र देखे मैले । मलाई केटाहरूमा पटक्कै रूची छैन । रूची होस पनि त कसरी? कोहि केटा मलाई हेर्दैनन् । नाक सिधा भएका केटीलाई हेर्दै उनीहरूलाई फुर्सद छैन अनि मलाई के हेरून् ? यी सबलाई नाक सिधा गरेर देखाउनु छ मलाई !

‘देवी’, आमाले कुममा हात राख्दा म तर्सिए । मैले बाख्रा बाँधेकै थिइन । म हत्तपत्त गोठतिर लागे ।

बाजेको नाती रहेछ त्यो केटो । भोलीपल्ट स्कुल हेर्न भनेर आकोथ्यो, बाजेको हात समाएर । बाजेका छोरा शहरमा बस्छन् । केटो पनि सहरमा नै पढ्छ रे! अरू केटीहरूले कुरा गरेको मैले सुने । मैले केटोलाई हेरे । केटोको नाकमा नै मेरो आँखा गयो । कस्तो सलक्क सिधा परेको नाक! उसले पनि मतिर हेर्यो । मेरो अनुहारमा उसको आँखाको कोण मेरो नाकमा थियो भनेर थाहा पाउन मलाई समय लागेन । टिफिनभरी सबै केटीहरूले उसैको कुरा गरे ।

‘कस्तो राम्रो है’, मैले भनिहाले । नभनेको भए पनि हुने तर राम्रोलाई राम्रो भन्दा के हुन्छ त?

‘राम्रो भए पनि नराम्रो भए पनि तँलाई के? तँलाई हेर्ने होइन क्यारे!’, मोटी हेमाले कस्तरी भनी मानौं कि उसलाई केटो मन परेको होस् ।

‘तँ मोटीलाई पनि हेर्दैन’, मलाई प्याच्च भन्न मन लागेको थियो तर भनिन । मोटी भएपनि ऊ भँगरी त छैन नी! फेरी उसको नाक त ठाडो थियो ।

म सबैभन्दा अन्तिममा बस्छु कक्षामा । सबैभन्दा होची भएकाले केहि देख्दिन तर मलाई मतलव छैन । मलाइ पढ्न पटक्कै मन छैन । म जति पढेपनि मेरो नाक ठाडो हुने होइन क्यारे! लास्टमा बस्दा कम्तिमा म मेरो नाकलाई उठाइरहेको सरमिसले देख्दैनन् नि!

म नाकको बारेमा निकै गम्भिर हुँदै गएको थिए । गोठालो जाँदा रमिता र मेरो काम त्यहि हुन्थ्यो । मैले आमाको सानो गाजल लाउने ऐना पनि चोरेको थिए । धन्न तिनले त्यो ऐना खोजेकी थिइनन् । ऐना हेरी हेरी हामी पालैपालो नाक तान्थ्यौ । बीचरी रमिता जोडले मेरो नाक तान्थी ताकी बल लगाएर गर्दा माथी उठ्न सजिलो हुन्छ । कहिले काँहि मुखबाट अइया नआएपनि आँखामा आँशु भरिएको हुन्थ्यो । आँशु देखेपछि उसले नाक छाडीदिन्थी । हामी दुबै महिनौको प्रयत्नपछि पनि कुनै परिणाम नआउँदा निकै निराश थियौं । जति गरे पनि केहि नभएपछि एकदिन रमिताले भनि, ‘देवी हुँदैन जस्तो छ’

उफ!

केटो पढाइमा तगडा रहेछ । सरले जे सोधे पनि भन्थ्यो । मलाई केटोले त्यहि एकपटक हेर्यो त्यसपछि हेरेन । मैले म पछाडी बसेकोले उसले नदेखेको होला भनेर मनलाई सम्झाए तर के मेरो नाक राम्रो भएको भए, म राम्री भएको भए पनि उसले मलाई हेर्दैनथ्यो होला त? मेरो मनमा यस्तो कुरा आयो तर मैले कसैलाई भनिन । रमिता पनि बिस्तारै गोठालो आउन छाडी । म एक्लैले नाक तानीरहे ।

दशैंको बिदा शुरू भयो । आमाले मलाई पाइन्ट किन्न बजार लाने भइन । बजार जाने दिन मैले गाजल लाए, हातमा चुरा लाए । आफ्नो पातलो अख्रक्क परेको कपालमा तेल लाए र मिलाएर कोरे । आमा नभएको मौकामा मैले ऐना हेरे र नाक ताने । अलिकति उठीहाल्यो भने पनि बजार जानेबेलामा राम्रै हुन्थ्यो भनेर तर केहि भएन । म गाडीको ढोकाको सिटमा आमाको काखमा बसेको थिए । आमालाई म सानी भएकाले फाइदा भा’थ्यो । काखमा राखेपछि पैसा तिर्न नपर्ने । मलाई घरीघरी बजार लानुपर्ने भए आमा त म कहिल्यै नबढोस् भन्ने चाहन्थिन होला ! मेरो मनमा यस्तै कुरा आयो ।

गाडी अलिबेर कुदेपछि मान्छे चढाउन रोक्यो । लाहुरे टोपी लगाएको एउटा मान्छे फुर्तिका साथ गाडीतिर आयो । एउटा खुट्टा भित्र राखीसकेपछि उसको नजर ममाथी पर्यो । उसको र मेरो आँखा जुध्यो, मेरो आँखाबाट उसको आँखा बिस्तारै नाकमा टक्क अडियो ।

‘आपुइ मान्छेको बच्चा हो कि बाँदरको हौ?’, ऊ बेजोडले आफ्नो सबै दाँत देखाउँदै हास्यो । बसका सबैमान्छेले मलाई हेरे । सबै खितिती हाँसे । आमा पनि मुसुमुसु हाँसिन । मैले हात हत्तनपत्त नाकमा लगे । मैले बजार नपुगुन्जेल नाकबाट हात हटाइन । मलाई मेरो नाकदेखि सारै रिस उठ्यो । नेपो हुनुभन्दा नभएको भए नै हुन्थ्यो भन्ने लाग्यो!

निलो रंगको जिन्स पाइन्ट आमाले नै रोजेर किनिदिइन । मैले केहि भनिन् । मेरो हात नाकबाट हट्न मानकै थिएन । बजारमा आमाका भाइ भेटिए । उनले मलाई नदेखेको दुई बर्ष भएको थियो ।

‘यो देवी होइन?’, उनले अचम्म मान्दै सोधे, ‘यो त जत्राको तत्रै रहिछे त!’

म केहि बोलिन, आमा मुसुक्क हाँसिन मात्र! घरमा हाँस्दा पैसा पर्ला जस्तो गर्ने अनि मेरो कुरामा चाहिँ मुसुमुसु हाँसेको देखेर मलाई रिस उठीरहेको थियो ।

दशैंको दिन मैले पाइन्ट लगाए । ऐना हेरे, नाकमा केहि बदलाव थिएन र म खासै फरक देखिएको थिइन । निधार पनि थोरै टिका लगाउँदा लगाउँदै पनि मेरो सानो निधार भरिएको थियो । आमासँग जसजसकोमा टिका लगाउन गए सबै मेरो नाकमा हेर्छन् । अझ केटाकेटी त यसरी हेर्छन् मानौ म कुनै अजिव प्राणी हुँ ।

दशैं विदापछि बाजेको नाती सहर फर्क्यो । हामी स्कुल गयौं । दसैं लगत्तै हाम्रो अर्ध बार्षिक जाँच थियो । मैले पढाइमा मन लगाएको थिइन । म राती छिट्टै सुत्थे । गोठालोमा वा फुर्सदमा म नाक तान्नमै व्यस्त थिए । रमिलाले साथ छाडेपनि म नाक उठाउने कोशिस गरिरहेको थिए । जाँचका केहिदिन त आमा नै गोठालो गइन तर मैले घरमा पनि पढिन ।

मैले नेपाली र मेरो सामाजिक शिक्षा बाहेक सबैमा फेल गरेछु । आमाले खुब कराइन तर मैले वास्ता गरिन । म आफ्नो उहि नाक तान्ने पुरानो धन्दामा मन लगाइरहेको थिए । गोठालोमा खल्तिबाट सानो ऐना झिक्नु र नाक तान्नु बाहेक मेरो केहि काम थिएन । म बढीन्छ कि भनेर रूखमा झुन्डिन पनि थालेको थिए । एउटा साँझ म गोठालोबाट फर्कदा आमा सडकमा कर्ची लिएर उभिरहेकी थिइन । उनको नाकमा होइन, मैले उनको आँखा हेरे । राता आँखाहरूले चिच्याइ चिच्याइ भनिरहेका थिए कि उनले त्यो कर्ची मलाई नै पिट्न लिएकी थिइन ।

उनले मेरो पाखुरा च्याप्प समाएर आँगनमा पुर्याउँदासम्म मेरो सातो गइसकेको थियो । उनले कति कर्ची हानीसकेकी थिइन मैले केहि होस पाइन । म रोइरहेको थिए, रूँदा पनि मेरो आवाज खास केहि ठुलो थिएन । उनी के के भुत्भुताउँदै थिइन, मैले केहि सुनिरहेको थिइन ।

‘गाई हेर्न छाडेर कहाँ ग’को थिइस्, बोल्!’ कुट्न छाडेर जब उनले भनिन तब पो बल्ल मैले थाहा पाए उनले किन मलाई कुटेकी रहिछिन् भन्ने । दिउँसो म ऐना हेरेर नाक तान्दै गर्दा गाईवस्तु पसलेबाको खेतमा गएका थिए । म भन्दा अगाडी खबर घर आइसकेछ ।

‘म नाक तान्दै थिए’, मैले भने । जे पर्ला पर्ला भनेर मैले भने । उनले जस्तोसुकै प्रतिक्रिया दिए पनि मलाई मतलव भएन । हद भए उनले मलाई घर पठाइदिन्थिन र मेरी आमाले फेरी मलाई अन्त कतै गाई हेर्न पठाउँथिन् ।

‘के अरे?’, उनले मेरो कुरा सुनिनन् कि मैले भनेको कुरा पत्याइनन् मैले बुझिन तर उनी एक्कासी शान्त भइन ।

‘सबजना मलाई बाँदरनी भन्छन्, मेरो नाक नेपो छ । म अरूभन्दा सानी छु, मलाइ कोहि केटाले हेर्दैनन् । म जे लाएपनि नराम्री देखिन्छु । मलाइ मेरो नाक ठाडो बनाउनु छ त्यसैले म नाक तान्दै थिए । मैले तपाईको ऐना पनि चोरेको छु नाक हेर्नलाई!’, मैले रूँदै रूँदै सबैकुरा एक सासमा भने । मेरो मुटको गति तिव्र भयो । मेरा साना आँखाहरूमा डर थियो ।

आमा केहि बोलिनन् । चुपचाप भान्छामा लागिन । मलाई लाग्यो अब उनले मेरी आमालाई खबर गर्नेछिन् । म माथी आफ्नो ओछ्यानमा गए र सुते । राती कतिबजेको थियो कुन्नी आमाले खाना माथी नै ल्याएर उठाइन मलाई । खाना खाएर म फेरी चुपचाप सुते ।

बिहान घाँस हेर्न जानुअघि आमाले भान्छामा बोलाइन ।

‘तेरो नाक सिधा गर्नुछ तँलाई?’, उनले अस्वभाविक रूपमा नरम भएर सोधिन । मैले उनको आँखामा हेरे, आँखामा रिस थिएन तर प्रेम नै पनि मैले देखिन ।

म केहि बोलिन, मेरो मुन्टो तल झुकिरह्यो । मलाई गाउँलेले मैले नाक तान्छु भन्ने थाहा पाएभने के होला भन्ने लागिरहेको थियो । यसै त जिस्काउने साथीहरूले यो कुरा थाहा पाए भने मलाई बस्न खान दिनेछैनन् । अनि आमाले यो कुरा अरूलाई नभन्लिन भन्ने त सवाल नै थिएन ।

‘नाक सिधा बनाउन ध्यान दिएर पढ्नुपर्छ । पढाइमा राम्रो गरिस भने तेरो नाक आफै ठाडो हुन्छ’, आमाले यतिमात्र भनिन् । उनले खल्तिमा मकै राखिदिइन । म घाँस गए । उनको कुरा सोचिरहे । कक्षामा सबैभन्दा भुस म नै थिए । म फेल पनि भ’को थे । मलाई उनको कुरा सहि लाग्यो । हाम्रो कक्षामा फस्ट हुने रामहरी निरौलाको नाक सबैभन्दा तिखो थियो । जसको पढाइ जति राम्रो उसको नाक उती ठाडो भन्ने लाग्यो मलाई । आमाले त्यसदिनबाट मलाई ट्युसन राखिदिइन । म अलि मेहनत गर्न थाले । राती आमाले नसिकाए पनि म पाठहरू घोक्न थाले । हिसाब गर्न थाले । अँग्रेजी पनि मेरो राम्रो हुँदै गयो । म कक्षामा सरले सोधेको जवाफ दिन थाले । सरमिसले बाँदरनी भन्न छाड्नुभयो । मैले ऐना कम हेर्न थालेको थिए ।

तालीको गडगडाहटले म झसंग भए । सात बर्ष बितिसकेछ, अहिले पनि म उस्तै छु । अलिकति बढेको हो कि जस्तो लाग्छ आफैलाई । नौ कक्षा पढ्दा थाहा पाए चेपाङहरूको नाक नेपो नै हुने रहेछ तर मेरो अलि बढी नेपो चाहिँ भएको हो । आज एसएलसीमा जिल्ला टप गरेकाले मेरो सम्मान हुँदैछ । मंचमा जब मलाई बोलाइयो तब मेरो हात फेरी नाकमा गयो । मेरो नाक ठाडो भएको थिएन तर मानिसहरूलाई यसको कुनै मतलव नै थिएन । उनीहरू मेरो लागि ताली बजाइरहेका थिए ।

Be Sociable, Share!

5 thoughts on “नाक कसरी ठाडो हुन्छ?

  1. after a long time i read a really fabulous story.artistic expression . i read this twice…awesome it is. written according to psychology of a child with ease..with simplicity it stands as an inspiring story . To write a good story heavy words are not needed-an example. Thank u.

  2. पहिले पाठकहरुबाट प्रश्नहरु नै बढी आउथे, आजकल उत्तर पनि जोडिएर आउछन – मैले नबुझेको जिन्दगीका सवालहरु र भित्रै कुन्ठीएका मेरा निरुत्तर भावनाहरु संगै । दिन खाएका मान्छेहरुको कुरा सुन्नुमा छुट्टै आनन्द हुन्छ । कहिले काहीं लाग्छ मेरो सोचले पनि उमेर खाँदै गएको छ र सोच संगै म पनि बुढो भएँ कि! बुढो हुँदै छु कि परिपक्क? के मेरो पनि उमेर ढल्केको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *