बर्षातका सम्झनाहरु…..

केहि बर्ष अगाडी मैले यो ब्लग लेखेको थे झरीको बारेमा! आज पनि झरीको बारेमा म यस्तै सोच्छु मात्र केहि सम्झनाहरु बदलिएका छन् र केहि सम्झना म सम्झिदिन वा मैले बिर्सन सके! केहि सम्झनाहरु आउटडेटेड भएका छन् अनि केहि सम्झनाहरुमा अब मेरो कपिराइट छैन! हिजो परेको पानीमा रुझे पछी यसको याद आयो!

“जब कोइ बात बिगड जाए, जब कोइ मुश्किल पड जाए

तुम देना साथ मेरा, ओ हमनवा!”

म गितले भावुक भएछु । चोकबाट मेरो पाइला अघि बढेन । म ठिङ्ग उभिरहे जब कि मलाई थाहा थियो पानीले म निथ्रुक्क भइसकेको छु ।

पछाडीबाट साइकलको घन्टी लगातार आएपछि मैले बाटो छाडे र बिस्तारै हिडे । बर्षा सुरू भएछ, झमझम् पानी परेपछि त्यस्तो लाग्यो ।

मलाई बर्षात परारसम्म मन पर्‍थ्यो । बर्षातका रमाईला सम्झनाहरू मसँग छन् । अहिले म बर्षातमा रुझ्न सक्दिन, अब मलाई हिलोमा हिड्न मन लाग्दैन र अब मसँगका बर्षातका सम्झनाहरू पनि धुमलिदै जान थालेका छन् ।

मेरो माईली फुपुको घरमा बुर्जा थियो, हाम्रो घर त त्यतिबेला जस्ताले छाएकै थिएन । त्यसै पनि हाम्रो घर बुर्जा भएको होइन । बुर्जाबाट पानीको धारा ठुलो आउँथ्यो । म स्कुल बिदाका दिनहरूमा पानी पर्ने बित्तिकै हजुरबुवाको आँखा छलेर पानीमा नुहाउन पुग्थे । म मात्र हैन हाम्रो गाउँका केटाकेटी जति सबै मस्ती गर्थ्यौ । स्कुल नजिकै थियो, फुपुले कराउन थालेपछि हामी स्कुल जान्थ्यौ । हो, थुप्रै पटक हजुरबुवा रिसाउनु हुन्थ्यो र फेरी गए राम्रो नहुने चेतावनी पनि पाइन्थ्यो तर कहिल्यै रुघा लागेन, ज्वरो आएन । शरिरलाई गार्‍हो भएन ।

गाउँमा छाता थोरैको घरमा मात्र थियो । ड्याडले छाता लिएर जाने भएकोले होला, हाम्रो घरमा अर्को छाता थिएन । हामी बोरा ओढेर कलसम्म जान्थ्यौ । स्कुल जान छाता ओढेर आउने साथी कुर्नुपर्थ्यो । सडक छेउमा घर भएकाले त्यो सजिलो थियो ।

एउटा छातामा एकजना कहिले आउन्नथे, म पछि छातामा घुस्रिने अरू पनि हुन्थे । स्कुल पुगुन्जेल सम्म सबै भिजेका हुन्थे तर स्कुलमा पुगेपछि कहिल्यै सर्ट कतिखेर सुक्थ्यो भनेर थाहा भएन । असिना परेको बेला कस्तो रमाईलो हुन्थ्यो । असिनाका टुक्राहरू भेला पार्नु र त्यो नपग्लीउन्जेलसम्म सबजनाले घेरेर हेरीरहनु अनि भोली पल्ट त्यसको बारेमा साथीहरूसँग गफ लगाउनु क्या रमाईलो हुन्थ्यो ।

हिलोमा चिप्लिएर धेरै पटक लडे । चोट लागेको सम्झना छैन । मलाई थहा छैन किन सबै सम्झनाहरू रमाईला मात्र छन् ?अब फुपुको घरमा बुर्जा छैन, मेरो गाउँका केटाकेटी त्यसरी नुहाउन पनि छाडिसके । गाउँमा ग्र्याबेल गरेकोले हिलो छैन, सबैका घरमा छाता छन् । अब म पानीमा भिज्न सक्दिन । दशैं अगाडी भिज्दा टाइफाइड भयो । रूघा लागीहाल्छ, टाउको दुख्छ । अनि पानी नपरे पनि हुन्थ्यो भन्ने लाग्छ ।राजधानीमा पानीमा रूझेका एकआध मिठा सम्झना बाहेक सबै दिक्क लाग्दा छन् । सडकमा हिड्दा हिलो छ्यापिएर रिस उठेका थुप्रै सम्झनाहरु छन् । पानी पर्दा म उसँग एउटै छातामा टाँसीएर हिडेको सम्झन चाहन्छु, छाता बन्द गरेर दुबैजना रूझेको सम्झन चाहन्छु तर किन मिठा सम्झनाहरू धुमलिदै जान्छन् ? ति सम्झनाहरूले आँशु पनि बोकेर ल्याउँछ, सायद त्यसैले होला!

ऊ, मेरो आँखामा फेरी आँशु आयो । किबोर्डका अक्षरहरू देखिन गार्‍हो भो!

भर्खर बर्षात शुरू भो, अझ धेरै भिज्नु छ । यो बर्षात केही मिठा सम्झनाहरू बोकेर आओस सबैको जिवनमा!

Be Sociable, Share!

Comments are closed.