मृत्यू : हिजो, अस्ति र आज

कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै बजे उठ्नुहुन्थ्यो । आमा ओछ्यानमा नभएपछि मलाई लाग्यो, चार बजिसकेछ ।

को रोएको होला यति बिहानै भनेर मलाई झर्को लाग्यो । मेरी आमा पो चार बजे उठ्नुहुन्थ्यो, मेरो त उठ्नेबेला भएको थिएन नि । मैले जोड गरेर आँखा चिम्लन प्रयास गरें तर सकिनँ । रुवाइ धेरै परबाट होइन, मेरै आँगनबाट आएको थाहा पाउन मलाई बेर लागेन । मान्छेहरूको कल्याङमल्याङ पनि बढ्दै गएको थियो । मैले झ्याल उघारे । पूरै गाउँ उल्टेर आँगन भरिएको थियो । कोही ‘बिचरा’, कोही ‘च्वच्व’ त कोही ‘पापीहरू’ भन्दै थिए । सबै एकैचोटि बोलिरहेकाले होला मैले प्रस्ट केही बुझ्न सकिनँ । सबको बीचमा घेरिएर रोइरहेकी आइमाई झन् जोडले झन् जोडले रुन थालेपछि म दौडिएर तल झरें । म तल झर्दा अर्को टोलका बूढाकाका हातमा लालटिन लिएर आउँदै थिएँ । म भीड चिरेर त्यो रोइरहेकी आइमाईलाई हेर्न छिरें । कस्तो बुद्धु थिएँ म त्यतिबेला, आफ्नै आमा रोएको पनि मेसो पाएको थिइनँ । बूढाकाकाको लालटिनको उज्यालोमा मैले आमाको आँसुले भिजेको अनुहार देखें । भीडमा हाफ भेस्ट मात्र लगाएर जाडोले काम्दै गरेको मलाई देखेर आमाले गम्लंग अँगालो हाल्नुभो, ‘पापीहरूले बुवालाई मारे ।’

रातिमात्र म भोलिबाट स्कुल जाने सपना देख्दै सुतेको थिएँ । बाले ल्याइदिएको नयाँ किताब, नयाँ लुगा, नयाँ कापी, नयाँ कलम बोकेर आफंै पनि नयाँ भएर जाने रहरले निदाउन दिएको थिएन । बाले हप्काउन परेको थियो । बाकै डरले आमाको छातीमा डल्लो परेर म निदाएको थिएँ ।

एकैछिनमा सबैजना बूढाकाकाको लालटिनको पछि लागेर नजिकैको नहरमा गए । म पनि आँखा मिच्दै छिमेकी साइँली ठूलीआमाको सारीको फेर समातेर बाटो लागे । अझै उज्यालो भएको छैन । चिसोले जीउ झन्-झन् काम्दै छ । परैबाट बूढाकाकाले लालटिन उचालेर भने, ‘ऊ त्यहाँ झुन्डिएका रहेछन् ।’

नहरछेउको बाटोमा एउटा कटहरको रूख थियो । बाटोमा पर्ने त्यो कटहरको रूखमा एउटा लास झुन्डिएको थियो । लालटिन नजिक पुगेपछि मात्र मैले बाको कालो चप्पल चिनें । अनि चप्पलभन्दा माथिको खैरो सुरुवाल, सुरुवालभन्दा माथिको खैरो कमेज लगाउने मेरा बा नै थिए । त्यो रातो गलबन्दी पनि बाकै थियो जुन मैले मलाई ठूलो भएपछि दिन भनेको थिएँ । बाको टाउको तल जमिनतिर झुन्डिएको थियो । आँखाहरू खुला थिए । मैले एकोहोरो बातिर हेरिरहें । साइँली काकीले ‘केटाकेटी मान्छेले हेर्नु हुन्न’ भनेर आफ्नो सारीको सप्कोले मेरो टाउको छोपिन् ।

लासको छेउमा पुगेपछि आमा झन् कहाली कहाली रुन थाल्नुभयो । उहाँ झन्डै बुवाको खुट्टा समाउन पुग्नुभएको थियो, आइमाईको हूलले रोक्यो । कसैले भीडबाटै भन्यो, ‘प्रहरीलाई खबर नगरेसम्म लास नझार्नू !’

हुस्सु बिस्तारै फाट्दै गइरहेको थियो । मान्छेहरूको भीड बढ्दै गइरहेको थियो । हाम्रा आफन्तहरू पनि ओइरिन थालेका थिए । मानिसहरू दुई मतमा बाझिएका थिए । कोही बा आफैं झुन्डिएको भन्दै थिए कोही भने बालाई कसैले मारेर झुन्डाइदिएको भन्दै थिए । आमाचाहिँ एकोहोरो ‘पापीहरूले मारे मेरो प्राणलाई’ भन्दै रोइरहनुभएको थियो । म अलमलमा थिएँ । आमाले पटक पटक जिब्रो टोकेर मरेको नाटक गरेर मलाई सताइरहनुहुन्थ्यो । मलाई लाग्यो, बाले पूरै गाउँलेलाई सताउनुभएको हो । यी सब मान्छे कति जिल्लिन्छन् होला जब बा डोरी खोलेर तल झर्नुहोला भन्ने मलाई लागिरहेको थियो । तर उभिँदा उभिँदा खुट्टा गलिसक्दा पनि बा तल झर्नुभएन । आमा रोइराख्नुभएको थियो । मलाई झर्को लाग्दै गइरहेको थियो ।

‘आमा बुवालाई रूखबाट तल र्झन भन्नु न,’ मैले आमाको आँसु पुछिदिँदै भने, ‘मलाई स्कुल जान ढिला हुन्छ ।’

मैले त्यत्ति के भनेको थिएँ, आमालगायत अरू पनि स्वास्नीमान्छेहरू डाँको छाडेर रुन थाले ।

दिउँसोमात्र पुलिस आयो । भोकले मेरो पेट भित्र पसिसकेको थियो । कोही खाने कुरा गर्दैनन् । गाउँलेहरू पनि आफ्नो सब काम छाडेर बसेका छन् । पुलिसले यताउता के-के गरेपछि बाको झुन्डिएको शरीरलाई तल झार्‍यो । आमा फेरि चिच्याउन थाल्नुभयो । बालाई पुलिसले ओरालिसकेपछि मलाई लागेको थियो, उहाँ हाँस्नुहुन्छ अनि हामी सँगै घर जानेछौं । तर त्यस्तो भएन । बालाई प्रहरीले गाडीभित्र हाले ।

जब मेरो कपाल मुडुलो पारियो, मलाई नाङ्गेझार पारेर एउटा सेतो कपडाको लंगौटी बनाएर लगाइदिइयो तब मलाई बा अब आउलान्जस्तो लागेन । अझ बाको मुखैमा मैले आगो झोंसेपछि बा आउने आशा मरेर गयो । अनि मलाई विश्वास भो बा मर्नुभयो । आमाले मलाई एकदिन अँध्यारोमा पोस्टमार्टम रिपोर्ट देखाउनुभयो ।

‘तेरा बा आफैं मरेका होइनन्, उनलाई पापीहरूले मारेका हुन् । हेर यहाँ लेखेको छ रे, तेरो बाको हत्या भएको, उनी झुन्डिएका होइनन्,’ आमाले सेतो कागजमा एक ठाउँमा औंला नचाउँदै भन्नु भो । कक्षा १ मा भर्ना भएर पनि स्कुल नगएको म नेपालीमा लेखेको हो कि अंग्रेजीमा त छुट्याउन सक्दिनथें, कसरी हत्या लेखेको छ कि आत्महत्या थाहा पाउँथें ? फेरि हत्या र आत्महत्या भनेकै थाहा थिएन ।

‘आमा पापीहरू भनेको को हुन् ?’ तैपनि मैले अक्षरहरू पढ्ने प्रयास गर्दै भनें ।

आमाले बररर आँसु झार्नु भो । केही भन्नुभएन ।

झोंकी खालका मेरा बाका शत्रुहरूको सूची लामो थियो । सानो-सानो कुरामा पनि निहुँ खोज्ने मेरा बा झुन्डिएको मान्न उनका शत्रुहरू त तयार थिएनन् झन् आमा त के मान्नुहुन्थ्यो । म सुतेपछि आमालाई एकैछिनमा आउँछु भनेर जानुभएका बा आउनुभएन । आमाले शंका गरेका मान्छेहरूको आफ्नै एउटा सूची बनाउनुभएको थियो । त्यो सूचीमा परेका मान्छेहरूसँग हामीले बोलचाल बन्द गर्‍यौं । बा मरेपछि प्रहरी कार्यालय जानु आमाको एउटा नियमित काम थियो । किरिया सकिएपछि पनि टाढाटाढाबाट घरमा मान्छेहरू आइराखे । घरमा आउने हरेक मान्छेले मात्र होइन, स्कुलमा साथीहरू, गाउँमा गाउँलेहरूले, पाहुना जाँदा आफन्तहरूले बाको हत्याको धेरै कहानीहरू सुनाए । प्रहरीले हत्यारा पत्ता लगाउन नसकेर फाइल बन्द गरिसक्दा पनि बाको हत्या खुल्लै थियो । सात वर्षपछि म मामाघर जाँदा पनि कसैले ‘ज्वाइँको हत्यारा पत्ता लाग्यो त ?’ भनेर मामालाई सोधेका थिए ।

चिया पसलमा बाको मृत्यु सधैं ताजा भइराख्यो । मान्छेहरू अनेक कुरा गर्थे । कोही भन्थे, बाले मर्ने बेलामा पानी माग्नुभएको थियो रे । कोही भन्थे, बा मर्ने बेलामा छट्पटाउनुभएको थियो । कोही भन्थे, बाले पनि झन्डै त्यो मार्ने मान्छेलाई मार्न लाग्नुभएको थियो रे ! मानिसहरू यस्ता कुरा यसरी गर्थे मानौं तिनले नै देखेका थिए ।

मान्छेहरू चियापसलमा भन्थे, ‘बहुदलमा पनि प्रहरीले हत्यारा पक्रन सकेन । खोइ कानुन ?’

म कक्षा नौमा पढ्थे । बाको हत्याराको अझै केही पत्तो थिएन । आमाले आस मार्न लाग्नुभएको थियो । रेडियोमा दिनहुँ मान्छे मारिएको समाचार आउन लाग्यो । फेरि एकजना मात्र होइन । जत्थाका जत्था प्रहरी, माओवादी, जमिनदार, सुराकी मारिन थाले । को मर्‍यो भनेर राम्रोसँग थाहा नपाउँदै अर्को मरिसक्थ्यो । मान्छेहरूलाई कुरा गर्न भ्याइनभ्याइ थियो । मेरा बाको हत्या त स्वाट्टै हराएर गयो ।

फेरि अचानक रेशम मारिएको खबर हुरीझैं गाउँमा फैलियो । रेशम मेरो एकदमै मिल्ने साथी थियो । ऊ र म बाका हत्यारालाई पुलिसले पक्रन नसकेपछि आफैं पक्रेर बालाई झुन्डाएझैं गरी झुन्ड्याउने योजना बनाउँथ्यौं । म दिक्क लाग्नेबित्तिकै बा झुन्डिएको कटहरको रूख हेर्न जान्थें । रूख बूढो हुँदै गएको थियो । मान्छे झुन्डाएको रूख भनेर कोही त्यसमा फलेको कटहर खाँदैनथे । कटहर बोटमै पाकेर कुहिएर झर्दा मलाई लाग्थ्यो, बा कुहिएर झरेका हुन् । अनि म ड्वाँड्वाँ रुन थाल्थें । त्यतिखेर मलाई जोडले अँगालेर ढाडस दिने त्यही रेशम नै हुन्थ्यो । ऊ मसँगै जान्थ्यो । म रूखमुनि बस्थे ऊ अलिपर बसेर नहरमा ढुंगा हानेर बस्थ्यो ।

रेशम बेपत्ता थियो एक महिनादेखि । उसको पत्तो लाग्दा रेडियोले उसको ठेगानासहित उसको मृत्युको खबर सुनायो । वास्तवमा रेडियोले आतंककारी रेशमको मृत्यु मुठभेडमा भएको सुनाएको थियो । पछिल्लो समय यसरी नै मान्छेहरू कि त आतंककारी हुन्थे, कि दुश्मन हुन्थे । मान्छेहरूको वर्गीकरण साँघुरिएको थियो । म र आमा आँगनमा धान दाउनी गर्न मियो गाड्दै थियौं । रेडियोले उसको नाम भनेपछि आमाले मतिर हेर्नु भो । मैले आमातिर हेरंे । आमाले मलाई आँगनबाट तान्दै भित्र ल्याउनुभयो र ढोका थुनेर भन्नु भो, ‘रेशमको बारेमा कसैसँग केही कुरा नगर्नू,’ आमाले मेरो हात आफ्नो टाउकोमा राख्नुभयो, ‘तैंले केही कुरा गरिस् भने म मर्छु ।’

सायद सबैका आमाले आफ्ना केटाकेटीलाई यस्तै कसम खुवाएका थिए । कसैले केही कुरा गरेन । अहँ चुइँक्क कोही बोलेन । स्कुलमा शोकधरी मनाइएन । मैले बाटोमा एकपटक रेशमको आमालाई नभेटेको होइन । उनले केही सोध्लिन् कि भनेर म कति डराएको थिएँ । म जमिनतिर आँखा झुकाएर उनलाई नदेखेझैं गरेर हिँड्ने सोच्दै थिएँ, देखें उनी त झन् परैबाट जमिनतिर आँखा झुकाउँदै आउँदै थिइन् ।

रेशम पनि झोडी थियो । स्कुलमा साथीभाइदेखि लिएर कोही सर-मिस बाँकी थिएनन् जोसँग उसले निहँु नखोजेको होस् । ओल्लो गाउँ, पल्लो गाउँ जहाँ पनि उसले झगडा गरेका कोही न कोही थिए । आमा जहिल्यै मलाई उसको संगत नगर्न भन्नुहुन्थ्यो । म हरेकपटक हुन्छ भन्थें तर फेरि उसैसँग टाँस्सिन्थें किनकि उसले मेरो बाको हत्यारा पत्ता लगाउने कसम खाएको थियो । तर यसपालि चियापसलमा रेशमको शत्रुको लिस्ट कसैले बनाएन । ऊ मारिएको भोलिपल्ट चियापसलमा मान्छे नै थिएनन् ।

बाको हत्यारा पत्ता लगाउन गाउँमा प्रहरीहरू लाठी बोकेर छिरेका थिए । तिनले बूढाबूढीलाई बाआमा, अलि कम बूढाबूढीलाई काकाकाकी, त्योभन्दा नि कम बूढाबूढीलाई दाजुभाइ भनेर फकाईफकाई कुरा लिन खोजेका थिए । म उनीहरूको पछि लागेर पूरै गाविस डुलेको थिएँ ।

रेशमको मृत्युपछि बन्दुक बोकेका सेनाहरू लस्करै लागेर गाउँमा छिरे । गाउँलेहरू हात जोडेर लहरै लाइन लागे । सेनाको नाइके कुर्सीमा बसेर एकएकसँग आतंककारी रेशमको बारेमा सोध्यो । उसको बारेमा थाहा हुनेले थाहा भएजति भने, थाहा नहुनेले पनि केही न केही भने । मेरो पालो आयो । मैले आमाको कसम खाएको थिएँ । त्यसैले केही भनिनँ । मेरो गालामा झड्याम्म दुई चड्कन पर्‍यो । आँखाबाट तुरुक्क आँसु झारेर मैले आमातिर हेरंे । मेरोभन्दा बढी आँसु त आमाको आँखाबाट आइरहेको थियो ।

त्यो रात आमाले बाको पोस्टमार्टम रिपोर्ट च्यात्नु भो । मैले पनि रोकिनँ ।

गाउँमा फेरि अर्को हत्या भयो । कविरामको बुवा हरिरामको । म उनलाई ठूलाबा भन्थें । यो हत्याताका मैले बाको हत्यारालाई पक्डेको सपना देख्न छाडेको थिएँ । रेशम त थप्पड खाएपछि नै सपनामा आउनै छाडेको थियो । काठमाडौंमा एउटा जागिरमा अल्भिmएपछि दसैंमा मात्र घर आउन थालेको थिएँ । खेतमा पानी पटाउने निहँुमा झगडा हुँदा बिर्खे काकाले कोदालो टाउकोमा बजारेपछि कविरामको बुवाको मृत्यु भएको थियो । थाहा पाएलगत्तै मैले उसलाई फोन गरेको थिएँ । बिर्खे काकालाई प्रहरीले तुरुन्त हिरासतमा लिएको पनि हो । आमाले मुद्दा चल्दै छ भनेर सुनाउनुभएको थियो ।

बिर्खे काका र हरिराम ठूलाबाको केही दुश्मनी थिएन । उनीहरूको खेतको साँध एउटै भएकाले पानी पटाउने बेलामा सधैं केही न केही किचलो हुन्थ्यो तर त्यो किचलो त्यही पानी पटाउने बेलामा मात्र हुन्थ्यो । नभए, उनीहरू दुवैजनाको राम्रै सम्बन्ध थियो । पानीको किचलो त मेरा बा मरेदेखिकै थियो ।

उसको बा मरेको एक महिनापछि गाउँबाट कविरामले फोन गरेर तुरुन्त गाउँमा आउन उर्दी गर्‍यो । कविराम रेशमपछिको मेरो मिल्ने साथी थियो । रेशम हुन्जेल कविरामको खासै महत्त्व थिएन । रेशम गएपछि पनि कविरामको महत्त्व देशमा गणतन्त्र आएपछि मात्र भयो । गणतन्त्र नआउन्जेल मेरो मिल्ने कोही साथी भएनन् । कसैका लागि गालामा दुई थप्पड खाने साहस मैले जुटाउन सकिनँ, त्यसैले न त म कसैका नजिक गएँ न त कसैलाई मेरो नजिक आउन दिएँ ।

lll

मेरो खास काम गाउँमा होइन रहेछ । गाउँदेखि १ घन्टा परको राजमार्गमा रहेछ । दिवाबस चढेर बेलुका गाउँ पुग्दा भोलिदेखि हुने अनिश्चितकालीन बन्दको आयोजकका सूचीमा मेरो नाउँ रहेछ । पुग्नासाथ कविरामले बोल्नै नदिई सही धस्काउन लगायो । यसरी कविरामको बुवा हरिरामलाई सहिद घोषणा गराउनैपर्ने मागसहितको बन्दको आयोजकमा म दरिन पुगंे ।

‘कवि तेरो बुवाको हत्या सामान्य विवादमा भएको हो,’ मैले भनंे, ‘सहिद भनेको त देशको लागि लड्दालड्दै मर्ने मान्छे होइन र ?’

‘हो,’ उसले भन्यो, ‘तर तँलाई थाहा छ बिर्खे काका कुन पार्टीका थिए ?’

मलाई के थाहा ? भनिहालें नि गाउँ म वर्षमा एकपटक मात्र जान्थंे ।

‘मेरा बा पार्टीका लागि मारिए । बा जिल्ला किसान संगठनमा उठ्ने सोच्दै थिए, त्यसैले उनको हत्या भयो । बिर्खे काका अर्को पार्टीलाई समर्थन गर्थे,’ उसले विस्तार लायो, ‘यो देशमा भीड जम्मा नगरी केही हुन्न । तँ मेरो साथी यतिखेर काम नलागे कहिले लाग्लास् ।’

बिहान राम्रोसँग ब्युँझदा म सडकमा थिएँ । भटाभट गाडीहरू रोकिए । रोकिएका गाडीका मान्छेहरू सडकमा छरपस्ट थिए । कविराम सडकको बीचमा पलेंटी कसेर बसेको थियो । अगाडिपट्ट िउसको बाको फोटो पनि अबिरमाला लगाइवरी राखेको थियो । उसको छेउमा उसका अरू साथीभाइ, इष्टमित्र, गाउँले अनि केही हाम्रै ब्याचका उसको उर्दीको पछि लागेर आएकाहरू थियौं । बन्दका बारेमा बुझ्न मान्छेहरू हाम्रो छेउमा आउँदा कविराम चर्को स्वरमा नारा लगाउँथ्यो । मान्छेहरू कोही हाँस्थे । कोही बन्द खुलाउन बिन्ती गर्थे । कोही कविरामको अनुहारमै छिर्का पर्ने गरेर थुक्थे । तर कविरामलाई केही कुराले फरक पारेको थिएन । बरु मध्याह्नको खबरका लागि रेडियो, टीभी, पत्रपत्रिकाबाट रिपोर्टरहरूले उसको मागको बारेमा सोध्न थालेपछि कविराम बिहानभन्दा बढी जोसिन थाल्यो ।

‘राजनीतिक प्रतिशोध लिएर मेरो बुवाको षड्यन्त्रपूर्वक हत्या गराइयो,’ उसले जोसिएर भन्यो, ‘राज्यले असली हत्यारालाई कठघरामा ल्याओस् र मेरो बुवालाई सहिद घोषणा गरोस् भन्ने मेरो माग हो । माग पूरा नभएसम्म आन्दोलन जारी छ ।’

अनि उसले आफ्नो बुवाको फोटोतिर हेरेर हात जोड्यो ।

कविरामको जोस कविराममा मात्र सीमित भएन । मध्याह्नको समाचार के बज्यो, तुरुन्त विपक्षी दलबाट जिल्लास्तरीय नेता आधा घन्टा पैदल हिँडेर कविरामको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइपुगे । उनीसँग आएको दलबलले कविरामलाई यसरी घेर्‍यो कि हामी त भीडबाट हुत्तिएर पर पुग्यौं ।

उसलाई त राष्ट्रिय स्तरबाट फोन आउन थाल्यो । उसको माग अचानक राष्ट्रिय स्तरको भयो । तत्कालीन संविधानसभामा समेत उसको पक्षमा विपक्षी नेताहरूले समय लिएर बोले । कविराम त राष्ट्रिय चर्चा भयो ।

फोन त मलाई पनि आयो राष्ट्रिय स्तरबाटै । कार्यालयबाट हाकिमले भोलिपल्ट आगो भएर फोन गरे, ‘तपाईको जरुरी काम त बन्द गर्ने पो रहेछ हैन ?’ पत्रिकामा मेरो फोटो कविरामसँग कानेखुसी गर्दैगर्दाको छापिएको रहेछ । कविरामसँग मैले थुप्रैचोटि बन्द खुलाउन सल्लाह गर्न कानेखुसी गरेको थिएँ । हाकिमलाई सम्झाउन सकिनँ । उनले पनि उही कविरामले झैं उर्दी गरे, ‘भोलि बिहान हाजिर हुन आउनुस्, जागिरको माया भए !’

‘मेरो जागिरको सवाल छ,’ मैले रुँलाझंै गरें ।

‘कति कमाउँछस् ?’ उसले मेरो कानमा सोध्यो ।

म बोलिनँ । थप्पड खाने डरले होइन, के भन्ने भन्ने थाहा नपाएर ।

‘आन्दोलनको टुंगो लाग्न दे,’ उसले फेरि कानमै भन्यो, ‘केही व्यापार नै गर्लास्, एकमुष्ट पैसा आउँछ ।’

मैले केही भनिनँ । उसलाई धेरै बोलिरहने फुर्सद थिएन ।

बाटाका मान्छेहरू बहुलाइसकेका थिए । चाउचाउ पोकाको पचास, सय हुँदै डेढ सय पुगिसकेको थियो ।

lll

जरुरी काम परेर घर आएको चौथो दिन म भात खाँदै गर्दा बूढाकाकाका छोरा सुनिल दाइले कविरामको माग पूरा भएको सुनाए । म झोला भिरेर दौडिहालें । राजमार्गमा गाडीहरू गुड्न थालिसकेका थिए । एउटा गाडीमा चढ्न लागेको थिएँ, पछाडिबाट कसैले तान्यो । बस फुत्क्यो, तान्ने कविराम रहेछ ।

‘कहाँ जान लागेको ?’ उसले थाहा नभएझैं गरी सोध्यो ।

म बोलिनँ ।

‘भोलि घोषणा कार्यक्रम छ,’ उसले सुनायो, ‘हाम्रो पैसा छिट्टै आउँछ, लिएर मात्र जा !’

म मान्नेवाला थिइनँ । मलाई उसको पैसा किन चाहिएको थियो र ! तर उसले कसै गरे पनि जान दिएन ।

भोलिपल्ट कार्यक्रम भो । नयाँ सर्ट नयाँ पाइन्ट लगाएर कविराम मञ्चमा थियो । उसको छेउमा प्रमुख अतिथिको रूपमा विपक्षी दलका राष्ट्रिय स्तरका नेता थिए । मञ्चको अघिल्तिर कविरामका बाको ठूलो फोटो राखिएको थियो । केन्द्रबाटै नेता झरेकाले मान्छे भरिभराउ थिए । कार्यक्रमको सुरुवात शोकसभाबाट भयो । अनि एकएक वक्ताले कविरामको बुवाको हरिरामका बारेमा बोले । प्रमुख अतिथिले पनि हरिरामको योगदानको लर्को लगाए । उनी पटकपटक कविरामतिर फर्केर बुवाको नाउँ के रे भन्दै सोधेपछि भन्थे, ‘हरिरामजीको योगदान लामो छ,’ कविराम आफैंले पनि उसको बाउले पार्टी, देश, जनता, गाउँका नाममा गरेको योगदानको चर्चा गर्‍यो । बोलिसकेपछि उसले बाको फोटोतिर हेरेर कुप्री परेर नमस्कार गर्‍यो ।

यसरी बुवालाई कविरामले सहिद घोषणा गरायो ।

कार्यक्रम सकिएपछि म कुनामा उभिइरहेको थिएँ । प्रमुख अतिथि ‘हजुर-हजुर’ भन्दै फोनमा कुरा गर्दै गए ।

‘अब सत्तारुढ दललाई गिराउने योभन्दा राम्रो इस्यू के हुन सक्थ्यो र,’ उनले फोनमा भने, ‘यतिखेर एजेन्डाको खडेरी परेको तपाईंलाई थाहा छैन र ?’

मलाई लाग्यो, म खोक्नुपर्छ । नत्र अरू कुरा सुनिराखे भनें मलाई बान्ता हुन्छ । तर मेरो खोकाइले केही असर गरेन ।

‘मान्छे त यो हाम्रो पार्टीको होइन, तर हामीलाई फाइदा भयो कि भएन !’ अनि उनी हाँसे ।

lll

बाहिर कविरामसँग मान्छेहरू आफ्नो हैजाले मरेका काका, हर्ट अट्याकले मरेका बाउ, दुर्घटनामा परेर मरेका दाजुभाइलाई कसरी सहिद बनाउन सकिन्छ भनेर सल्लाह लिँदै थिएँ । रनाहामा बाहिर निस्केको मैले भीडले घेरिएको कविरामको घाँटी न्याकें । छेवैमा उसकी स्वास्नी थिई ।

‘भाउजू, यो मरेपछि २० लाख पाउनुहुन्छ,’ मैले उसकी स्वास्नीलाई सोधें, ‘मारिदिउँ ?’

‘बीस लाख ?’ उसकी स्वास्नीले मुख आँ पारी ।

‘हो बीस लाख,’ मैले भनें, ‘भन्नुस् के गरौं ?’

‘मारिदिनुस्,’ स्वास्नी त्यति भनेर हिँडी ।

भीडले मबाट कविरामलाई फुत्कायो ।

‘भोलि तँ र म यसरी नै मारिन्छौं,’ यति भनेर म काठमाडौं आएको छु ।

यो कथा कान्तिपुर कोशेलीमा २०६९ सालमा प्रकाशित भएको हो !

Be Sociable, Share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *