म मर्दिन कमरेड !

यो कथा मुल्यांकन मासिकमा २०६७ सालको दशैं अंकमा छापिएको थियो | यो कथा ०६७ बैशाषमा एमाले झापाका कार्यकर्ता डेकेन्द्र राजवंशीले एमाले मुख्यालय बल्खुमै आत्महत्या गरेको र उनका छोरा शम्भुले पनि पाँच महिनापछी आत्महत्या गरेको पृष्ठभूमीमा लेखिएको हो |

सरोजकी आमा रोएकी थिइनन्। आँखाका डिलहरुबाटै थाहा लाग्थ्यो, उनको एकथोपा आँशु पनि बहेको थिएन। म खबर पाएको एक घण्टामा नै गएको थिए। उनी रुँदै होलिन् भनेर सान्त्वनामा के भन्ने भनेर आधा घण्टाको बाटोभरी म सोच्दै थिए। घर पुग्दा उनी आँगनको कुनामा बाधेको गाइलाई घाँस हाल्दै थिइन। भत्कनै लागेको पिढीमा केहि आइमाइहरु बसिरहेका थिए। उनीहरु सप्कोले सिँगान र आँशु दुबै पुछ्दै थिए। उनीहरुका आँखा कहिले आँगनको विचको लाशमा त कहिले गाइलाई घाँस हालिरहेकी सरोजकी आमामाथि थियो। केहि लोग्नेमान्छेहरु पनि थिए जो आँगनमा उनको छोराको लाशलाई कात्रोले छोप्दै थिए। केहि केटाकेटीहरु पनि थिए जो लाशलाई डराइडराइ हेरिरहेका थिए। अरु पनि केहि मान्छे थिए, जो खासखुस गर्दै थिए।

त्यहि खासखुसबाट थाहा भयो, सरोजले विहान ११ बजे घर मुन्तिरको बकैनाको बोटमा झुण्डिएर आत्महत्या गरेको रहेछ। अनि भिड मै कसैले भन्यो, “धेरै टेन्सन छ भन्दैथियो”

म आँगन मै उभिरहे। मसँगै जील्ला सचिव र कोषाध्यक्ष पनि थिए। जील्लामा हिँड्दा नमस्कार फर्काउने फुर्सद हुँदैनथ्यो तर यहाँ कसैले मेरो ख्याल गरेनन्। सायद मलाई कसैले चिनेनन् पनि होला। मैले पनि चिनेको कोहि देखिन। सरोजको गाउँ नगएको सायद एकवर्ष बढि भएको थियो। अरुबाट नै खबर लिएर काम चलाउँदै थिए। माओवादीले गाउँ जान दिएको छैन भन्दै क्षेत्र र केन्द्रमा भनिरहेको थिए। केन्द्रले पनि पत्याइरहेको थियो, आजसम्म पनि पत्याइरहेकै छ। त्यसैले पनि अखबारमा माओवादीले हाम्रा कमरेडलाई गाउँ जान दिएनन् भनेर केन्द्रिय कमरेडहरु उफ्रिएको म पढिरहन्छु। गाउँको खबर ल्याउनेले सबै ठिकै छ भन्थे। सायद उनीहरुले सरोजसँग भेटेका थिएनन्।

सरोजकी आमाले खैरो रंगको सारी लगाएकी थिइन। ब्लाउज हरियो रंगको भन्नुमात्र थियो, खुइलिएर हरियो रंगलाई गिज्याइरहेको थियो। सायद काम गर्न सजिलो होस भनेर सारीलाई घुँडासम्म तानेर सप्कोले बाँधेकी थिइन। मेरी स्वास्नी यस्तै गर्छे। कपाल जुरो बाँधेकी थिइन तर त्यो फुस्कनै लागेको जस्तो थियो। खुट्टामा चप्पल थिएन। हातमा चुरा थिएन। मध्यान्हको चर्को घामले उनको घाँटी र कन्सिरीबाट पसिना बगेको प्रष्ट देखिन्थ्यो। अनि उनको घाँटीको हड्डी माथिसम्म उक्लेको पनि प्रष्ट देखिन्थ्यो।

“ए सरोजकी आमा”, पिँढीबाट अलि पाकी जस्ती देखिने आइमाइ उठिन्, “तिमी बस त!”

“गाइ धेरै भोकाएको छ”, सराजकी आमाले भनिन्, “यसलाई पानी दिन्छु”

खोले पकाउने कराइ म उभिएकै आँगनको कुनामा थियो। मेरै नजिक भने पनि हुन्छ। उनी सरासर कराइ भएतिर आइन्। मैले हात जोडे। पहिलोपल्ट मैले उनीलाई हात जोडे। उनले फर्काइनन्। मैले फेरी हात जोडे तर फेरी तिनले फकाइनन्। मैले तेस्रोचोटी हात जोड्दा उनी कराइ लिएर गइसकेकी थिइन्। पछाडीबाट उनको चिराचिरा परेको पाइताला देखे। कराइ गाइको छेउमा राखेर उनी बाल्टिन बोकेर पल्लो घरतिर लागिन्। उनको घरमा कल थिएन। सँगैको पल्लोघरबाट पानी ओसारेको देखेको थिए। दुई बाल्टिन पानी ल्याइन, भान्छाबाट ढिका नुन ल्याएर फोडेर पानीमा मिसाइन। भुस सकिएको रहेछ, बोरा टक्टक्याइन केहि झरेन। त्यसपछि केहि फुसफुसाए झैँ लाग्यो, उनको ओठ चलेको देखे। आवाज कानसम्म आएन। गाइ निकै तिर्खाएको थियो, घरी घरी आफुभन्दा अलिकति मात्रै पररहेको कराइ भ्याउन दाम्लो नै चुडाउँला झैँ गरिरहेको थियो। उनी भने पानी र नुन घोल्दै थिइन। आइमाइहरु हेरिरहेका छन्, लोग्नेमान्छेहरु हतार हतार लाशलाई तयार गर्दै थिए। भिडमा अरु पनि खासखुस हुँदैथियो।

“बुवा मरेदेखि राम्रोसँग खा’को थिएन”, भिडबाटै मेरो कानसम्म आयो, “बाउछोरोको लेखान्त एउटै रहेछ”

चच र चुचुको आवाज लगातार आइरहेको थियो। भिडमै छोरा मर्दा पनि आमालाई गाइको चिन्ता भनेर कुरा भइरहेको थियो। सरोजकी आमा भने कराइ सारेर गाइ नजिक पु¥याउँदै थिइन। कराइ उचाल्दा उनको चाउरी परेको पेट देखियो। अलिकति घामले अलिकति कराइ उचाल्नाको सकसले तिनको पसिनाको बहाब तेज भो। कराइ गाइको अघिल्तिर राखेर उनले पसिना पुछिन्। गाइले एक सासमा पानी रित्यायो। बाल्टिनबाट फेरी थपिन्। अनि यसरी गाइलाई हेरिरहिन् मानौ उनको आँगनमा उनी एक्लै उभिएकी छिन्। आँगनको विचमा आर्यघाट लान तयार पारिदै गरेको लाश उनको छोराको होइन।

“ए भाउजु! भाउजु खोइ?”, लाशलाई काम्रोमा बेरेर एउटा अधवैंसेले सरोजकी आमालाई बोलायो।

बल्ल उनले भिडलाई हेरिन। छाता ओढेर उनको घरमा उनको छोराको लाश हेर्न आउनेलाई हेरिन्। पिढिका मान्छेलाई आँगनका मान्छेलाई अनि कुनामा उभिएको मलाई पनि हेरिन्। टाढैबाट भए पनि उनका र मेरा आँखा जुधे। अनि आँगनको विचमा भएको लाशलाई हेरिन्। एकछिन पनि लाशमा टक्क नअडिकन उनले नजर फेरी गाइमा पुर्याइन । गाई पानी सकेपछि कराइ चाट्दै थियो। कराइ सारिन र सारी पनि तल झारिन । सप्को निकालिन र काँधमा हालिन। बाल्टिनमा पानी बाँकी नै रै’छ हात धोइन र गोडामा खन्याइन।

“भयो?”, उनले त्यहि बोलाउने अधवैसेलाई सोधिन।

उसले मुन्टो हल्लायो। कात्रो पन्छाएर छोराको अनुहार हेरिन। कपाल मिलाइदिइन। अनि अरु तिनजना गाउँले केटाहरुसँगै लाश बोकेर हिडिन। लाश उचाल्दै गर्दा पिढिका आइमाइहरुले आँशु पुछे। कोहि कोहि भक्कानिएको आवाज पनि आयो। तर सरोजकी आमाका आँखाहरु एकदम सुख्खा स्थिर थियो।

सचिव पुरुषोत्तमजी र कोषाध्यक्ष राधेश्यामजी पनि मलामी सँगसँगै बाटो लागे। म पेट ठूलो भएकाले धेरै हिड्न सक्दिन भनेर उनीहरुले नै सरोजकी आमा आएपछि सहयोग रकम दिनका लागि घरमा नै बस्ने सल्लाह दिए।

उनलाई मैले थुप्रैपटक सालिकरामजीसँग देखेको थिए। बजारमा भेट हुनासाथ सालिकरामजी हरेक पटक मेरो जहान भन्दै चिनाउँथे। उनी बोल्दिनथिन्, वा बोलेको भए पनि मैले सम्झने केहि विशेष कुरा भनेकी थिइनन्। सालिकरामजी पार्टिको लागि खुब लडेका मान्छे। जेल पनि गएका थिए। बहुदलपछि उनले आफ्नो जेल जीवन भजाउन सकेनन्, त्यसैले काठमाडौं उक्लन सकेनन्। जील्लामै पनि उनी हाम्रो भर परे। उनलाई आफ्ना कमरेडहरुमा यति भर थियो कि आफुले दुख नपाउनेमा उनी ढुक्क थिए। घरको स्थीती ठिक नभए पनि सुरुसुरुमा भेट हुँदा उनी देशकै कुरा गर्थे। देश अघि नबढेकोमा उनलाई चिन्ता थियो। पछि छोरो हुर्कदै गएपछि उसलाई एउटा जागिरको कुरा गर्न थाले। छोराको जागिरको लागि पहिला विस्तारै विस्तारै अनि पछि अलि जोडले नै उनले भन्न थाले। यतिसम्म कि उनले आफ्नो जेलजीवनको कदर छोरालाई जागिर दिलाएर गर्न पनि भने। राजनिती गरेका मान्छे उनको जागिर पनि थिएन। छोरालाई पनि जागिर लगाएर माओवादीको मोह हटाउन चाहन्थे। त्यसै भनेका थिए मलाई।
“छोरो माओवादीमा लाग्यो”, पोहोर परारै मलाई भनेका थिए, “हाम्रो पार्टिमा के छैन र उसलाई माओवादीमा लाग्न दिने? त्यसलाई जागिरमा झुन्ड्याउन पाए हुन्थ्यो”

छोरा पनि ल्याएका थिए। त्यति बेला नै हो मैले पहिलो पटक सरोजलाई देखेको। ऊ केहि बोलेन। जानेबेलामा नमस्कार गर्यो। तर मलाई सालिकरामजीका कुरा सुन्ने फुर्सद थिएन। मेरो काका, मामा, भाइ, दाइ, दिदी, बहिनी का छोरा, भतिजा, भान्जा, सालाकै रोलक्रम सकिएको थिएन।

एकदिन सुने उनी काठमाडौं केन्द्रमा नै गएका छन् रे। पार्टि सरकारमा भएकोबेला आश लागेर गएका होलान्। मनमनै ठिकै भो भने, उनको गनगनले वाक्क भइसकेको थिए।

तर छोरालाई जागिरमा झुन्डाउन गएका उनी आफै झुन्डिएको खबर आयो। अनि एकाएक सालिकरामजीका बारेमा म पो सबै जान्ने भए। स्थानिय पत्रपत्रिका, रेडियोदेखि राष्ट्रिय पत्रपत्रिका, रेडियो, टेलिभिजनसम्मले मलाई सोधे, “सालिकरामजी जील्लामा कस्तो हुनुहुन्थ्यो?”

“उहाँ पार्टिको असाध्यै इमान्दार क्याडर हुनुहुन्थ्यो। कहिले व्यक्तिगत लाभ लिनु भएन। आफ्नो पार्टिको सरकार हुँदा छोरालाई जागिर लगाउन नसकेर चिन्तित हुनुहुन्थ्यो”

मैले केन्द्रलाई दोष थोपारे, “जील्लामा राम्रो जागिर नभएकाले केन्द्र जानुभएको थियो तर केन्द्रले आफ्ना कार्यकर्तालाई विर्सिसकेको रै’ छ”

लोग्नेको अनुहार टिभीमा देखेर स्वास्नी मख्ख थिइ। छोराछोरी पनि बाउलाई टिभीमा देखेर दंग थिए। त्यतिबेला नै म पहिलो पटक पार्टिको तर्फबाट फलफुल बोकेर सरोजको घरमा गएको थिए। सरोजकी आमा निकै रोएकी थिइन। उनका आँखाबाट आँशुले रोकिने नाम लिएको थिएन। पार्टिले केहि सहयोगको घोषणा गर्यो तर पार्टिको राष्ट्रिय वेइज्जत गरेकाले सालिकरामजीका बारेका कसैले सार्वजनिक रुपमा कुरा गर्न चाहेन। पत्रपत्रिकातिर लेख्ने लेखक कमरेडहरु पनि चुइक्क गरेनन्। सालिकरामजीले पार्टिको वेइज्जत गरेको उनीहरुको ठहर थियो।

लाश घरबाट उठेपछि मान्छेहरु पनि विस्तारै हिँडे। म चुपचाप बसिरहे। पार्टिको तर्फबाट काजक्रियाको लागि केहि रकम दिन भनेर म सरोजकी आमालाई कुरेर बसिरहेको थिए। घामको रंग सुन्तला हुँदै गर्दा उनी आइन। उनीसँग केहि छिमेकी पनि थिए।
“ल भाउजु”, एउटाले भन्यो, “आराम गर्नु। हामी भरे आउँछौ”

उनी पिढिँतिर लम्कदै गर्दा मलाई अघिकै ठाउँमा ठिंग उभिरहेको देखिन। एकछिन मेरो आँखामा हेरिन। नझुकाउ भन्दाभन्दै मेरा आँखा तल जमिनमा भासिए।

“भाउजु मलाई धेरै दुख लाग्यो”, मैले जसोतसो आँखा जमिनमा नै भासेर भने।

“किन?”, उनी बोलेको पहिलो पटक सुने, “पार्टिको जुलुसमा जाने दुइजना मान्छे घटे भनेर?”

उनको प्रश्नले म रन्थनिए। उनका आँखामा हेरे, सुख्खा आँखाहरु सामना गर्न डरलाग्दा हुने रहेछन्। उनी रोएकै वेस थियो।

“भाउजु त्यस्तो होइन”, मैले सम्झाउने प्रयत्न गरे जो मेरो पेशा थियो।

उनी केहि बोलिनन्। म पिढिमा आए, उनीदेखि अलिपर परालको पिर्का तानेर बसे। उनका नजर आँगनको विचमा थियो।

“भाउजु पार्टिले यो अलिकति मद्दत…..”, मैले पुरै बोल्न सकिन। खाममा भएको दशहजार उनीतिर तेर्साए।

उनले एकछिन मतिर हेरिन्। मेरो सुनौलो फ्रेम भएको चश्मामा हेरिन्, घाँटीको सिक्रीमा हेरिन्, घ्यूरंगको सर्टमा हेरिन, हातको सिको फाइभ घडीमा हेरिन्, देब्रेहातको साहिली र काहिली औलामा भएको औठीमा हेरिन्, खैरो पाइन्टमा हेरिन्, छालाको जुत्तामा हेरिन्।

“उठ्नुस्”, उनले बसिबसि भनिन्। पहिला त उनले के भनिन् भनेर मैले बुझिन।

“उठ्नुस्”, उनको स्वर कडा भयो, “सुन्नु भएन???”

म विस्तारै उठे। नजर हतारहतार वरपर कसैले देखिरहेको छ कि भनेर थाहा पाउन दौडाए। डगरमा एउटा स्कुले केटो किताब च्यापेर ठिंग उभिएर हेरिरहेको थियो। सायद बाटोमा खेल्दै हिडेकोले ऊ अबेरसम्म पनि घर पुगेको थिएन। उसको र मेरो आँखा जुधे, ऊ मुसुमुसु हाँसे झैँ लाग्यो।
“जानुस्”, अनुमान विपरित उनी विस्तारै बोलिन्, “घर जानुस्। मलाई पार्टिको सहयोग चाहिँदैन। कम्यूनिष्टहरु काजक्रिया गर्दैनन्। मैले मेरो पति र छोराबाट सिकेको यहि हो।”

मलाई लागेको थियो, उनले हपार्छिन्। उनी कड्किन्छिन्। तर उनी शान्त थिइन।

म बोल्न सकिन तर अझै उनलाई पैसा लिनका लागि मनाउन चाहन्थे नत्र फेरी केन्द्रको खप्की खानु पर्ने हुनसक्थ्यो।

“जानुस् भनेको सुन्नु भएन”, अब उनी अलि कड्किइन्, “म मर्दिन। म सालिकरामजी र सरोज झैँ मर्दिन”

अब चाहिँ म उठे। उनको कड्काइ छिमेकमा पनि सुनिएको थियो, छिमेकी आँगनमा त्यसै निस्केका थिएनन्।

“सालिकरामजी र सरोज पार्टिका लागि लडेका थिए, त्यसैले आशा थियो”, उनले भनिन्, “म जेल गएकी छैन, मैले चन्दा दिएकी छैन, मैले ठूला नेता चिनेकी छैन त्यसैले मेरो केहि आशा छैन। आशा नै नभएपछि केको चित्त दुखाइ”
उनी फिस्स हाँसिन। मैले आँगनमा उभिएर घरको छानातिर हेरे, मक्किएको थियो। यसैपालीको झरी पनि नथेग्ला जस्तो।

भोलीपल्ट ११ बजे सुने, सरोजकी आमाले झापाका नेता केपी ओली, एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, झापा जील्ला अध्यक्ष म, शिवराम पाख्रिन लगायतका विरुद्ध आफ्ना पति तथा छोरोको हत्याको किटानी जाहेरी दिएकी छिन्।

एकैछिनमा उनको अन्तरवार्ता टिभिीमा देखे, उनी भनिरहेकी थिइन, “म मर्दिन। काठमाडौंका कमरेडहरुलाई हेक्का होस् म मर्दिन। मलाई मार्न सजिलो छैन”

Be Sociable, Share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *