राजनीतिक रोगीको ‘दिल्ली उपचार’

(पुरानो लेख, जुन मैले 2009-03-12 मा लेखेको थिए, नयाँ पत्रिकामा छापिएको थियो)

हामीले फेरि एउटा घिनलाग्दो नाटक हेर्नुपर्ने बाध्यता आइलागेको छ। यस नाटकको प्रथम शंृखलामा हाम्रो देशका घगडान नेताहरू अस्वस्थ भएका छन्। तिनीहरू उपचार गर्न दिल्लीको साउथ ब्लकनजिकैको कुनै अस्पतालमा भर्ना भएका छन्। बिरामी जँचाएर उब्रेको समयमा भारतीय नेताहरूसँग छोटो कुराकानी गर्न भ्याएका छन्। नेताहरूको अनुकूल राजनीतिक परिस्थिति नभएपछि स्वास्थ्यमा समस्या आउनु र उपचारका लागि दिल्ली नै जानु हामीले देखिरहेको पुरानै नाटक हो। यसपालि फरक के छ भने यस नाटकमा केपी ओली नाम गरेका पात्र पनि बिरामीका रूपमा थपिएका छन्। सदाझैं गिरिजाप्रसाद कोइराला नाटकमा मुख्य पात्रका रूपमा रहेका हुन्थे। कुनै न कुनै बहानामा अरू पात्र दिल्ली जाने जनाउ मञ्चका सूत्रधारका रूपमा रहेका मिडियाले दिएका छन्।

गद्दीच्यूत राजा ज्ञानेन्द्र, सूर्यबहादुर थापालगायत सबैले नाटकमा हिस्सा लिएकामा नेपाली जनतालाई आश्चर्य छैन। हामीले यी पात्रबाट यसभन्दा बढी अपेक्षा पनि गरेका थिएनौँ। दर्शकहरू ः हामी जनता नाटकबारे हरेक पटकझैं यसपालि पनि अनभिज्ञ छौँ। हाम्रो मनमा एउटा प्रश्न छ, के नेपालका डाक्टरहरू यति निकम्मा छन् त ? हाम्रा नेतालाई ठीक पार्नै सक्दैनन् ? फेरि, जवाफ हामीसँगै छ, स्वास्थ्यसम्बन्धी रोग भए पो निको पार्न सकून् त ! सत्ताको रोग निको पार्ने सामथ्र्य त यी शुद्ध प्राविधिकहरूसँग कहाँबाट होस् ! उनीहरूलाई चाहिएको त धेरै वर्षदेखि साउथ ब्लकले राजनीतिक रूपले पालेका कूटनीतिक डाक्टरहरू पो हुन् त।

एमालेका एक प्रभावशाली नेता लेख्छन्, एमाले सत्तारूढ दल एकीकृत माओवादीको निर्णयको साक्षी मात्र भएको छ। उनले एमालेले माओवादीको निर्णयको विरोध गरेन भने एमाले खिइने भविष्यवाणी गरेका छन्। एमाले खिइसकेको कुरा संविधानसभाको परिणामले बताइसकेको वर्तमान हो, भविष्य होइन। समृद्ध हुने वा सिद्धिने भविष्यमा दुईवटा सम्भावना छन्। माओवादीको निर्णयको विरोध गरे एमाले समृद्ध हुने कुरामा कुनै तुक छैन। हो, एमाले माओवादीको पिछलग्गू भयो भन्ने पनि सुनिन्छ। हिजो एमाले कांग्रेसको पिछलग्गू थियो, त्यसमा कसैलाई आपत्ति थिएन। वाम पार्टीहरू एउटै कित्तामा हुनु उनीहरूलाई पाच्य छैन। सायद, एमाले वाम पार्टी नै हो भन्ने कुरा हामीले गलत बुझरिहेको पनि हुन सक्छ।

हिजोझैं आज पनि कांग्रेसको पिछलग्गू हुने उनीहरूको उत्कट इच्छाले ओलीको स्वास्थ्यमा गडबडी आएको बुझ्न कुनै गाह्रो छैन। उनको पराजयपीडा नै बिमारी हुन सक्छ। दिल्लीदौडमा सत्ताको हेरफेरको प्रसंग जोडिएकामा पनि कुनै शंका छैन। चुनावमा गोल्ड मेडल जित्न नसक्नेहरू सिल्भर मेडल पनि दक्षिणपन्थीकै हातबाट लिन चाहन्छन्। यसो गरेमा पतनको शृंखलामा एमालेले गर्ने थप अर्को कुकृत्य हुनेछ। विचित्र छ, संविधानसभा चुनावले खुम्चेका कांग्रेस र एमाले जनताको मतलाई लत्याएर भारतलाई रिझाएर आफूलाई फुकाउन चाहन्छन्। धेरै समय सत्ता सञ्चालन गरेको कांग्रेस र नेपालको इतिहासमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाका निम्ति त सत्ता एक किसिमको लत भएको पनि हुन सक्छ। जसरी लागूऔषध सेवन गर्नेहरू डोज लिन नपाउँदा छट्पटिन्छन्, त्यसका लागि जे गर्न पनि तयार हुन्छन्, त्यसरी नै कांग्रेसले पनि आफ्नो सबै तागत यो सत्ता पल्टाउन लगाउने कुरामा कुनै शंका छैन। कांग्रेस आपmनो चरित्रमा इमानदार छ। त्यसैले उसले दिल्लीमै स्वास्थ्य परीक्षण गराउनु उसको स्वभावजन्य आचरण हो। हालै सम्पन्न एउटा कार्यक्रममा माओवादीनेतृ तथा पर्यटनमन्त्री हिसिला यमी कांग्रेसी कार्यकर्तालाई कोइरालाको आयु बढाउने उपायबारे सुझाउँदै थिइन्— कोइरालालाई स्वस्थ राख्न प्रतिपक्षको भूमिका नै ठीक हुने रहेछ।’

कोइरालाको सक्रियता आश्चर्यलाग्दो तरिकाले बढेको र स्वरमा कडापन देखेर यमीले मात्र होइन, हामीले पनि त्यही भन्ने वेला भएको छ। हिजो प्रधानमन्त्री छँदा महत्त्वपूर्ण समयमा अस्वस्थ हुने कोइराला आजभोलि तन्नेरी जोसका साथ माओवादीले अधिनायकवाद लाद्न खोजेको भाषण गर्नमा व्यस्त छन्। उनले भारतीय विदेशसचिव शिवशंकर मेननसम्मलाई गुनासो गर्न भ्याएका छन्। कोइरालाको मात्र नभएर उनकी पुत्री सुजाता कोइरालाको समेत अधिनायकत्वले कायल भएका कांग्रेसी कार्यकर्तालाई यतिवेला कोइरालाको होमा हो मिलाउन गाह्रो परेको छ। घरभित्रको अधिनायकत्वको विरोध गर्न नसक्नेले बाहिरको अधिनायकत्वका विषयमा बोल्ने नैतिक अधिकार पनि राख्दैन।

राजनीतिक विश्लेषक सिके लालको बुझाइमा कोइराला ‘स्ट्रङ पर्सनालिटी’ भएका मान्छे हुन्, जसको कुनै पनि कदमको सकारात्मक वा नकारात्मक जस्तो प्रतिक्रिया आए पनि आउने प्रतिक्रिया ‘स्ट्रङ’ हुन्छ। सायद, त्यसैले टनकपुर र लाउडाजस्ता ‘स्ट्रङ डिसिजन’ पनि उनले नै गरे, जसका ‘स्ट्रङ’ छाप दीर्घकालीन हुनेछ। बेबी किङको कुरा गर्ने दुस्साहस पनि उनैले गरे, मेननसँग स्ट्रङ गुनासो पनि उनैले गरे। अब, भारतको ‘स्ट्रङ लबिङ’ गरेर सत्ताको फेरबदलमा उनी लागे भने हामी चकित नहुँदा भयो। साथै, कोइरालाले पनि नेपाली जनताले उनको लबिङका बदलामा संविधानसभा निर्वाचनमा दिएको भन्दा ‘स्ट्रङ’ धक्का दिएर उनलाई राजनीतिक परिदृश्यबाट ओझेल पारिदिए भने दुःख मान्नुपर्ने कुनै कारण रहनेछैन। कोइराला र दिल्लीको दौडमा लाग्नेहरूले के बुझ्नुपर्छ भने नेपाली जनमत माओवादीको विपक्षमा गएको छैन, यो तथ्य स्विकार्नुपर्ने बाध्यता हामी सबैको छ। फरक कत्ति हो भने कोही तथ्यमा खुसी छन् त कोही बेखुसी। जे भए पनि यस तथ्यलाई बदल्न दिल्ली होइन, जनताको घरदैलोमा जानुपर्छ र अर्को चुनाव कुर्नैपर्छ। संविधान बनाउने वेलामा बिरामी हुने नेतालाई हामीले अर्कोपटक मौका दिइरहनुपर्ने कुनै कारण रहँदैन। नेपाली जनता आफ्नो मतको मूल्य बुझ्ने गरेर दसवर्षे जनयुद्धका क्रममा सचेत छन्। यस जनमतलाई नजरअन्दाज गर्ने भूल नेताहरूले गर्नु हुन्न। साउथ ब्लकले पनि हस्तक्षेपको क्रमलाई नियन्त्रण गरेन भने जनताले अब कुनै पनि शक्तिविरूद्ध निणर्ायक आन्दोलन गर्नेछन्। हाम्रा डाक्टरको क्षमताको अवमूल्यन हुने गरेर स्वास्थ्योपचार गर्न दिल्ली दौडनेका विरूद्ध चिकित्सक पनि जुट्नेछन्। आशा छ, यतिवेला नै माओवादीका नेतालाई दिल्लीदौडको रोग लाग्नेछैन।

Be Sociable, Share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *