विदेशी मित्र

यो कथा मैले सन् २००६को अन्त्यतिर लेखेको हो! समय साप्ताहिक र Y! पत्रिकामा छापिएको थियो! मैले एउटा रेस्टुरेन्टमा कसैलाई कुर्ने क्रमको झन्डै २५ मिनेट भित्रमा यो कथा लेखि भ्याएको थिए! कथा “कम्युनिष्ट” कथा संग्रहमा समावेश छ!

“तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन।

हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे।

“तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको उद्देश्य पनि मलाई चिढ्याउने हुन्थ्यो, तर म चिढिन्नथे।

सत्ते!

“ऊ मेरो प्रेमी होइन”

“भुतपूर्व त हो नि!”

“ऊ सधै दाह्री पाल्दैन।”

“मैले देख्दा त थियो नि!”

बाहिर कुकुर भुकेको सुनिन्थ्यो, भित्र हाम्रो जुधाइले विस्तारै उचाइ लिन थाल्थ्यो।

“ल मेरो प्रेमी दाह्रीवाल नै थियो रे, तिम्रो दाह्री नभएकी चिल्लो गाला भएकी क्याथीको कुरा गरन!” मलाई आफ्नोबारेमा कुरा गर्नै मन लाग्दैनथ्यो।

हाहाहा!!!! ऊ हाँस्थ्यो। हाँस्दा उसका नीला आँखाहरु चम्कन्थे। नीलो नानी भएको उसको ठुलो आँखामा म मेरो तस्बिर पनि नीलै देख्थे।

सत्ते!

“क्याथी मेरी प्रेमिका होइन के!”, ऊ मलाई बुझाउँथ्यो।

“कसरी? ऊ तिम्रो गर्लफ्रेन्ड होइन र ?” म बुझि्दिनथे।

“अमेरिकामा त लाज हुन्छ नि गर्लफ्रेन्ड नहुँदा! नेपाल जस्तो हो र?”

” गर्लफ्रेन्ड र प्रेमिकामा फरक छ र ?” म अझ बुझि्दिनथे।

“छ त!”

“गर्लफ्रेन्ड कस्ती हुन्छे?”

“गर्लफ्रेन्डलाई माया मार्न सकिन्छ। बिर्सन सकिन्छ। ऊ जीवनको अंग भएकी हुन्न।”

“प्रेमिका कस्ती हुनुपर्छ?”

“जस्ती पनि, तर देख्ने बित्तिकै माया लागोस्। प्रेमिकालाई माया मार्न सकिन्न। बिर्सन सकिन्न।”

वाह! क्या गज्जब कुरा! धित मर्ने कुरा क्या! हो, यहाँनिर पुगेपछि म चुप लाग्थे”, उसको दर्शन र्सवमान्य थिएन, त्यो म बुझ्थे, तर मेरो लागि यही मान्य थियो।

गफको यो चरणमा आइपुग्दा म सार्है चुलबुले हुन्थे, पलेटी कसेर ओछ्यानमा बसेको हुन्थे। जीउ सिरकले छोप्थे र काखमा सिरानी राखेर उतिर र्फकन्थे। उसको र मेरो खाटको दुरी दुइ फिट थियो। ऊ आफ्नो ओछ्यानमा मतिर कोल्टे फर्केर सुतेको हुन्थ्यो। उसको खैरो कपालले निधार ढाकेको हुन्थ्यो।

“हेर्दा पटक्कै माया लागेन, भेट्दा पटक्कै मोह भएन भने?!” म आँखा तन्काएर सोध्थे।

“मेरो जस्तै गर्लफ्रेन्डमात्र हुन्छे, प्रेमिका हुन्न। तर नभेट्दा पनि माया भयो, नदेख्दा पनि मोह भयो भने तिम्रो जस्तो प्रेमी हुन्छ, ब्यायफ्रेन्डमात्र होइन।” ऊ मेरो आँखामा आफ्नो आँखा जोतेर भन्थ्यो, “भाग्यमानी छ त्यो मोरो दाह्रीवाल!” अनि फेरी हाँस्थ्यो हाहाहा!!!!

कोठा फराकिलो थियो। तलको फ्लोरमा ठुला ठुला दुइवटा झ्याल भएको कोठा उज्यालो पनि थियो। हाम्रा आफ्नाआफ्ना खाट थिए, आफ्नाआफ्ना दराज। एकछेउमा लुगा फेर्ने कपडाले बारेका थियौ“। आफ्नोआफ्नो खाटतिरको भित्तामा हामीले आफ्नोआफ्नो रूचिको फोटो टाँगेका थियौ“। म हरेक रात टम क्रुजलाई गुड नाइट भन्थे मानौ उसले पनि मलाई त्यसै भनिरहेको छ। जेम्सहरेक बिहानी व्रिट्नीलाई गुड लक विस गर्न भन्थ्यो।
खाना खाने त थियौ, तर पकाउने नभएकाले भान्छा थिएन। एउटा इलेक्ट्रिक जग थियो, मुड अन भएको दिन म उसका लागि पनि कफि बनाउँथे, नत्र एक्लै पिउँथे। धेरै जसो मेरो मुड अफ हुन्थ्यो, विनाकारण, मलाई नै थाहा नभइ।

सत्ते!

शनिबार सफाइ गर्ने दिन हो भनेर भित्तामा मैले नै टाँसेको थिए, तर मलाई कुनै शनिबार पनि आफूले सफाई गरेको सम्झना छैन। म सबै शनिबारका बिहानी शहरभन्दा पर बरालिन पुग्थे, सायद आफ्नो भर्खरै बिछोडिएको दाह्रीवाल प्रेमीलाई भुल्न चाहन्थे।

छ फुटको सेतो छाला भएको जेम्स र पाँच फुटको कालो छाला भएकी मबीच ‘विदेशी मित्र’ को नाता थियो। अपाङ्ग बालबालिकाका लागि काम गर्ने एउटा कुनै संस्थामा ऊ स्वयंसेवकको काम गर्थ्यो। अमेरिकादेखि ऊ बिना पैसा काम गर्नका लागि आएको थियो। उसको सिनित्त परेको नाक, हावासंगै लहराउने मुलायम कपाल, मिलेको शरिरले हेर्दा त ऊ टम क्रुज झै थियो, पेशाले भने डाक्टर।

“हलो म डाक्टर जेम्स।” ऊ जब फोनमा कुरा गर्दा यस्तो भन्थ्यो तब म मुसुक्क हाँस्थे।

“तिमी किन हाँसेकी ? के तिमीलाई म डाक्टर जस्तो लाग्दैन?” ऊ कुरा सकाउने बित्तिकै भन्थ्यो।

“अँह,” म मुन्टो हल्लाउँथे।

“को जस्तो लाग्छ त?”

“टम क्रुजजस्तो,” म टमको फोटातिर देखाउँथे।

हामी दुबैले एकैपटक हाँस्ने कुरा यही मात्र हुन्थ्यो।

ब्रिटिश काउन्सिलको अगाडि पहिलो पटक ऊ मेरो छेउमा आएको थियो। छ फुटको मान्छे मेरो छेउमा उभि“दा कस्तो लाज लाग्यो नि आफुलाई त!

“तिमी मलाई मद्दत गर्नसक्छौ?” ऊ अमेरिकन न थियो, बोल्यो अंग्रेजी।

व्रिटिश काउन्सिल अगाडि अमेरिकन इङ्गलिस्!

“सक्दिन। म अंग्रेजी बोल्न जान्दिन। म तिमीलाई बुझ्नै सक्दिन।” मैले टाउको उठाएर उसको नीलो आँखामा हेर्दै मुश्किलले भने। मलाई आफुले बोलेको वाक्य सही थिएन भन्ने लागेको थियो, तैपनि जवाफ फर्काएको थिए।

उसले मलाई एकोहोरो हेरिरहेपछि मैले ङच्िच दाँत देखाएर “सरी” भने अनि भागिहाले। मेरो अंग्रेजी राम्रो थिएन। सत्ते!

“तिमी फटाही केटी!” लाइब्रेरीभित्र कसैले देब्रे कानमा साउती मार्यो।
देब्रेतिर फर्केर हेर्छु त त्यही छ फुटे पो रहेछ। मेरै छेउमा उभिएको, झण्डै झण्डै टासिएर! उफ्! त्यो त लाइब्रेरीभित्रै पो आउने रहेछ।

“यहाँ अंग्रेजी किताब हेरिरहेकी छौ! अघि मलाई ढाँटेकी?! बदमाश केटी!” उसले बाँकी नराखी भन्यो।
“मलाई…” मेरो मुखबाट यति निस्कन नपाउँदै उसले मेरो मुख थुन्यो, तर मैले मलाई साँच्चै आउँदैन भन्न खोजेको थिए। तर, मैले स्वरमा नियन्त्रण नै राख्न सकिनछु। उसले मुख थुनिदिएकाले हो वा जोडले बोलेर असभ्यता प्रदर्शन गरेकाले हो, लाजले मेरो मुख रातो भयो। एकैछिनमा फेरि म रून्चे जस्तो पनि भए। लाइब्रेरीका सबले मैतिर हेरे जस्तो अनुभव भएपछि त मेरो सारा शरीर नै जमेजस्तो भयो। पछि उसले भन्थ्यो त्यतिखेर म निकै मायालाग्दी देखिएकी थिए रे!

उसले मुखबाट हात निकालेपछि मैले आफूलाई सामान्य बनाए। निधार तन्क्याए, ङच्िच हाँसे, तर मेरो आँखा र स्वर रून्चे नै थियो।

“मलाई साँच्चै आउँदैन के!” मैले पनि साउती मारे उसको कानमा, “तर सुधार्न चाहन्छु त्यसैले यीमध्ये कुन चाहि मैले बुझ्न सक्छु भनेर हेरिरहेकी क्या!”

ऊ हाँस्यो हाहाहा गरेर। लाइब्रेरीमा चश्मा लाउनेहरूले हामीतिर हेरेर चश्मा मिलाए, बकुल्लाले हिलाम्ये खेतमा माछाका लागि मुन्टो गाडेझै किताबमा मुन्टो गाडेकाहरूले समेत मुन्टो उठाएर हेरे।

“सबजनाले तिमीलाई हेरिरहेका छन्।” मैले फेरि साउती मारे, खस्रो स्वरमा।

“के भो त? तिम्रा कुरा कस्ता रमाइला!”

अनि सुरू भो, अरू धेरै गफ! फिक्सन कर्नरमा किताब छान्दै, साउती मार्दै। एकैछिनमा ऊ मेरो मित्र भो, विदेशी मित्र। हामीले सम्झौता गर्यौ, मैले उसलाई नेपाली सिकाउने, उसले मलाई अंग्रेजी सिकाउने।

सम्बन्धको सुरूवात सम्झौताबाट भयो। म अंग्रेजी किताब पढिसकेपछि उसलाई भेट्न जान्थे, ऊ म कहाँ नेपाली सिक्न आउँथ्यो। उसको अप्ठेरो अमेरिकन जिब्रोलाई मैले सिकाएको पहिलो शब्द थियो मीरा।

उसले निकै पटक कोशिस गरेपछि बल्ल भन्न सकेको थियो? मीरा।

मीरा मेरो नाम थियो नि त!

ओहो म कत्ति रमाएको थिए त्यसबेला! सत्ते!

“मीराको अर्थ के हो?” उसले सोधेको थियो।

“मीराको ठ्याक्कै अर्थ त मलाई थाहा छैन, तर मीरा भगवान् कृष्णलाई मरिहत्ते गर्थी, उनीसंग बिहे गर्न चाहन्थी।” मैले जानेको कुरा भनेको थिए।

“अनि बिहे भएन?”

“अँह।”

“तिम्रो जस्तै भएछ नि त!” ऊ जोडले हाँसेको थियो। मैले रिसाएको जस्तो गरेर उसलाई आँखा तरेको थिए। तर, रिस उठेको थिएन।

सत्ते!

“तिमी बिस्तारै बोल्न सक्दैनौ, म जस्तो?” कहिलेकाही त म पड्कन्थे, बम जस्तो। ऊ यति छिटो बोल्थ्यो कि मानौ म सबै बुझ्न सक्छु, तर म सक्दिनथे। मलाई प्रत्येक रात कोठामा आएर उसले बोलेका शब्दहरू सम्झन र तिनलाई दोहोर्याउन खुब बल गर्नुपर्थ्यो। कति शब्द म बिर्सन्थे, उसलाई दोहोर्याएर सोध्न साह्रै लाज लाग्थ्यो।
सत्ते!

घाम अस्ताएर अँध्यारो हुन लागेको एउटा साँझमा असनको व्यस्त गल्लिमा अचानक हिड्दाहिड्दै हामीले एकैपटक प्रस्ताव राख्यौ, “संगै बसौ, हुन्छ ?”

दुबैले मुन्टो हल्लायौ, “हुन्छ।”

त्यो हिउँ दको सुरूवात हुँ दाको दिन थियो।

अब म उसका बारेमा सबै जान्दथे। उसको बाउको नयाँ गर्लफ्रेन्डदेखि उसकै आफ्नी आँखीभौ छड्के भएकी गर्लफ्रेन्ड क्याथीका बारेमा सबै जान्दथे। उसले पनि थाहा पायो, मेरो दाह्रीवाल प्रेमीका बारेमा।

“तिमी अमेरिकन भएर ब्रिटिस लाइब्रेरीमा के गर्न गएका थियौ हँ?” मैले एकदिन सोधेको थिए।

“तिमीलाई भेट्न।” कस्तो मात्तिएर जवाफ दिएको थियो उसले, “तिमी नि ?”

“म पनि तिमीलाई नै कुरिरहेको थिए नि। कस्तो ढिलो आएको ? मैले कतिबेर कुर्नुपर्यो बाहिर तिमीलाई !” मैले उसलाई माथ दिएको थिए।

ऊ पर्दा पछाडि गएर लुगा फेर्दा मेरो ढाड त्यता फर्किएको हुन्थ्यो। म पर्दा पछाडि गएर कहिल्यै लुगा फेर्दिनथे, उसलाई बाहिर निकाल्थे। ऊ साह्रै रून्चे देखिन्थ्यो त्यतिबेला।

म स्नातक पढ्दै थिए, मेजर नेपाली र समाजशास्त्रको बिद्यार्थी थिए। दिनभर कलेजतिर हुन्थे, बेलुकी कहिले भद्रकालीदेखि सिंहदरबारसम्मको फराकिलो सडक पेटीमा सुसेली हाल्दै डुल्थे त कहिले असनको व्यस्त बजारमा आफूलाई पटक्कै नचाहिने सामानको मोल सोध्थे, “त्यो सानो नानीको कपडाको कति ?”

प्रेम गर्याथे एउटासंग, मन लागेन उसंग अल्झिरहन । एउटा बिहानीमा मनमा अचानक के आयो कुन्नि ? मैले आफ्नो प्रेमीलाई एकतर्फी रूपमा छाडिदिए। पछि उसले पनि छाड्यो। मैले छाड्दा ऊ दाह्रीवाल थिएन। छाडेपछि दुबैले देखेको, तर नदेखेजस्तो गरेका भेटमा ऊ दाह्रीवाल भएको थियो। त्यहीबेला हो जेम्सले पनि देखेको।
“तिमी अझै सम्झन्छौ त्यो दाह्रीवाललाई ?” अब जेम्स पनि उठ्यो।

मैले मुन्टो हल्लाए, “अँ”

“उसले त बिर्स्यो होला !”

“अँ, त्यस्तो हुनसक्छ।”

“अनि तिमी अझै किन?”

“खै? मलाई थाहा भएन।”

म घोसेमुन्टो लाउँथे। पाइतालालाई भुँइको कार्पेटमा टेकाउँथे र बुढी औलाले त्यसलाई खोस्रिन थाल्थे। यस्तरी खोस्रिन्थे कि मेरो प्रयास त कार्पेट नै दुलो पार्ने हुन्थ्यो, तर मोजा नलाएको मेरो खुट्टा त्यसै चिसोले नीलो भएको हुन्थ्यो त्यसो गर्दा त झन् नीलो हुन्थ्यो।

“मोजा लाउने बानी बसाल न !” जेम्स ले बोलेपछि म आफूलाई रोक्थे।

जेम्स प्रायः बिहानै जान्थ्यो र साँझमा र्फकन्थ्यो। कहिलेकाही ठमेलको कुनै डिस्कोबाट फोन गथ्र्यो, “ए नाच्न आउँछ्यौ ? म एक्लै भए।”

म कहिल्यै गइन। मलाई नाच्न आउँदैनथ्यो।

सत्ते !

“तिमी एउटा कुइरेसंग बस्छौ रे हो ?” कलेजको क्यान्टिनमा एउटी साथीले सोधी। मुखमा चना थियो, बोल्न सकिन, हो भन्न मुन्टो हल्लाए“।

“अप्ठेरो हुन्न?”

“हुन्छ नि अंग्रेजी नआउँदा !” चना निलिसकेकाले जवाफ दिए, “कति चोटी त म उसले बोलेको नै बुझ्दिन”

ऊ पनि हाँसी, म पनि हाँसे। उसले सोध्न त अर्कै अप्ठेरोको बारेमा सोध्न चाहेकी थिइ, तर मैले अर्कै जवाफ दिए। वास्तवमा त्यो आफूले सोचेभन्दा फरक जवाफ पाएकोले जिल्लिएर हाँसेकी थिइ भने म चाहि उसलाई जिल्लाराम पारेकोमा मख्ख परेर हाँसेको थिए।

हिउँ दको मध्यतिर हामीले मेरो प्रेमी र उसको गर्लप|mेन्डको कुरा गर्न छाडिसकेका थियौ। म निकै राम्रो अंग्रेजी बोल्ने भएको थिए भने ऊ ठीकै नेपाली।

हिउँदको चिसा रातहरूमा ऊ काम्दा मलाई उसको माया लाग्न थालेको थियो भने म अबेर र्फकदा ऊ चिन्तित हुन थालेको थियो। म उसलाई नियमित कफी बनाएर दिन थालेको थिए भने उसले मेरो लागि बजारमा कुनै नयाँ किताब आउने बित्तिकै ल्याइदिन थालेको थियो।

सम्बन्ध अब सम्झौताको मात्र थिएन।

“तिमीलाई मैले प्रेम गर्छु भने भनें?”

हिउँ दकै एउटा मध्य दिनमा उसले मसित आँखा जुधाएर हाकाहाकी भन्यो। असनको व्यस्त बजारमा म आफ्ना लागि फित्ते चप्पलको मोलमलाई गर्दै थिए, “पचासमा आउँदैन?”

उसका नीला नानी भएका आँखाहरू अवश्य नै आक्रामक थिए, तर मेरा काला नानी भएका आँखाहरू पनि कम चाहि थिएनन्। म नीला नानी भएका आँखाको आक्रमणको प्रतिरक्षा गर्न सक्थे।

“यो त सार्है फितलो ठट्टा हो, बुझ्यौ ? हा“सो पनि नलाग्ने।” मैले पसलेतिर फर्केर जवाफ दिए।

“अचेल पचास रूपिया“मा त केही आउँ दैन बहिनी !” पसलेको जवाफ आयो।

“भैगो मलाई चाहिएन। यसको रङ्ग राम्रो छैन।”

म अघि बढे, उ पछि पछि आयो।

वास्तवमा मसंग पसलेलाई दिन सत्तरी रुपियाँ थिएन। चप्पल त कस्तो हुलुका थियो नि !

“मैले यो कुरा दोहोर्याएर भने भने?”, उसले अगाडि आएर मेरो बाटो छेक्यो। बजारमा मान्छेको भीड यति थियो कि एकैछिन उभिदा ठेलेर पर पुर्याइदिन्थे।

“अनि चाहि ठट्टा बन्ला कि ?” म उसलाई पन्छाएर फेरी अघि बढे।

“तेस्रो पटकको प्रभाव के हुन्छ ?”

“गम्भीर।”

“चौथो पटकमा पनि तिमी यस्तै हुन्छौ ?”

“म जवाफ दिन्छु।”

“के ?”

“तिमी मेरो, मात्र असल साथी हौ।”

मेरो मनमा उसको लागि त्यही भावना मात्र थियो।

सत्ते!

उसको प्रस्ताव गम्भीर थियो वा के ? मैले एकपटक पनि त्यसका बारेमा सोचिन। यतिसम्म कि कुरा सुनेर न त आर्श्चर्यले मेरा आँखाको आयतन बढेको थियो, न त रिसले भृकुटी खुम्चिएको थियो। फेरि त्यो विषयमा कहिल्यै कुरा भएन।

ऊ चुरोट खान्थ्यो, अरू पनि खान्थ्यो? तरल पदार्थ। त्यसपछिका सा“झहरूमा भने चुरोट खान बाहिर निस्क“दा ऊ सुसेल्न थालेको थियो। त्यो उदास सुनिन्थ्यो, त्यसैले म रेडियोको भोलुम बढाउँ थे।

“तिमी रातो स्वटर लाउ न। राम्री देखिन्छ्यौ।”

ऊ र्फकने निश्चित भएपछिको हिउँ दको अन्ततिरको एउटा बिहानीमा उसले म कलेज जान लाग्दा भनेको थियो।

“अँह” मैले रूखो जवाफ फर्काएको थिए।

“मेरा लागि, प्लीज।”

“किन तिम्रा लागि ? तिमी मेरो को हौ र ?”

“तिम्रो साथी।”

“हो साथी मात्र जो मलाई छाडेर जादैछ।”

ऊ फर्कने निश्चित भएपछिका दिनहरूमा म एकदम तनावमा थिए।

“हो, तिमीले गलत भनेकी छैनौ।” ऊ कोठाबाट फुत्त निस्क्यो।

त्यो दिन मैले त्यही रातो स्वेटर लगाए। पहिलो चोटि कसैका लागि लुगा लगाएको थिए। सत्ते !

“म तिमीलाई खुब सम्झनेछु।” यसो भन्दा उसको नीला नानी भएका आँखामा आँशु आएको थियो।

हामी पुतलीसडको पेटीमा मान्छेहरूसग ठोक्कि“दै घरी अघि घरी पछि त घरी संगै भएर हिडिरहेका थियौ।
“म पनि।” मेरो आँखामा आँशु आएको थिएन, तर म पनि ऊझै उदास थिए।

“तिमी त्यो दार्हीवाललाई सम्झेर दुःखी नहुनु है ?” उसले भन्यो, मैले मुन्टो हल्लाए।

बिहानदेखि नै घाम लागेको हिउँ दकै एउटा बिहानी ऊ मलाई छाडेर गयो। हाम्रो हिउँ ददेखि हिउँदसम्मको बसाइमा ऊ मेरो पक्का सहयात्री भएको थियो। म फेरि भद्रकालीदेखि सिंहदरबारसम्मको फराकिलो सडकपेटीमा एक्लै सुसेल्न थाले।

म उसलाई खुब सम्झिरहेको छु।
सत्ते !

Be Sociable, Share!

2 thoughts on “विदेशी मित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *