विशेष धातुका कम्युनिष्टहरु?

मैले २००८ तिर यस्तो आर्टिकल लेख्या रैछु । त्यतिखेर नयाँ पत्रिकामा छापिएको थियो ।

कम्युनिष्टका बारेमा मान्छेहरूको आफ्नो आफ्नै धारणा भएपनी, स्टालिनको ‘बिशेष धातु’ले कम्युनिष्टहरू बनेका हुन्छन् भन्ने कुरा निकै महत्व पुर्ण छ । हामीले स्कुलमा हुँदा बुझेको कम्युनिष्टहरू एमालेहरू थिए। उनीहरू भ्रष्टाचार गर्दैनन्, सरल जीवन बिताउँछन्, जनताको माझमा हुन्छन्, विकास गर्छन्, बहस गर्छन्, जुनसकै विचारको वा सिद्धान्तको भएपनि मिलाएर लैजाने क्षमताका हुन्छन्, प्रगतिशिल हुन्छन्, सभ्य भाषाको प्रयोग गर्छन्, उनीहरू जस्तोसुकै परिश्थितीको पनि डटेर सामना गर्छन, उनीहरू हार मान्दैनन्, उनीहरू रून्चे हुँदैनन्, बिदेसीको हेपाई सहदैनन्, यस्तै यस्तै । ‘एमाले कम्युनिष्ट’का बारेमा यो बुझाइ मदन भण्डारी र मनमोहनलाई देख्दासम्म जीवितै थियो । त्यसपछि, न त उनीहरूले भ्रष्टाचार कम गरे, न त सरल जीवन बिताए, न त जनताको माझमा गए न त विकास नै गरे ! अन्य पार्टीका नेताहरू हुन् कि एमालेका, ब्याबहारमा छुट्याउन हामीलाइ गार्हो भयो र एमालेहरू ‘कम्युनिष्ट’ रहेनन् ।

एमाले हुनेहरूले जब कम्युनिष्टको परिभाषा भित्र आफुलाई अटाउन सकेनन् तब नयाँ शक्ति ‘माओवादी कम्युनिष्ट’को नाम लिएर अगाडी आयो । उनीहरू जनताको माझमा गए, जनतालाई राजनीतिक रूपमा चेतनशिल बनाए । जनताले दिएको ढिडो खाएर लडे, जनताले झै सरल जीवन बिताए । तिनीहरू नै स्टालिनले भनेझै साँच्चिकै बिशेष धातुले बनेका कम्युनिष्ट हुन्छन भन्ने धारणा पुन:बन्यो । त्यसैले, एमालेको पतनपछि कम्युनिष्ट भन्दा माओवादीहरू हुन् भन्ने भ्रम थियो र छ ।

जनताको यो बुझाइले नै होला, माधव नेपाललाई जिताउन छाडेर उनीहरूले झक्कु सुवेदीलाई जिताए । वास्तवमा उनीहरूले व्यक्ति झक्कुलाई होइन, ‘कम्युनिष्ट झक्कु’लाई जिताएका थिए ।

भुमिगतकालमा कान्तिपुरमा छापिएको चर्चित अन्तरवार्तामा प्रचण्डको फोटोमा नोकियाको सबैभन्दा सस्तो सेट देख्न सकिन्थ्यो । उनको त्यो नोकिया सेटले साँच्चै नै उनिहरू सरल जीवनका पक्षधर हुन् भन्ने पुष्ट्याई गरे झै भयो। माओवादीले सडक खन्न लगाउने हुन् कि भनेर त्रसित राजधानीका युवाहरू समेत प्रचण्डको त्यसबेलाको सरलताबाट प्रभावित भएका थि तर यो भ्रमबाट माओवादी नेताहरूको दुई बर्षभन्दा बढीको सार्वजनिक जीवन देखिसकेका नेपालीहरूले मुक्त हुन थालेका छन् ।
एउटा कम्युनिष्ट भनिएको प्रधानमन्त्री जो मंचबाट विपक्षी दलको नेतालाई दुई छिमेकी बाझ्दा जसरी तल्लो स्तरमा ओर्लेर गाली गर्छन्र र जो फरक विचारको नाममा ‘फ’ पनि सुन्न चाँहदैनन् । कम्युनिष्ट पार्टीको नेता, जसले १० बर्ष जनयुद्ध गर्यो र नेपालमा युगान्तकारी परिवर्तन ल्यायो, के त्यो सयदिनमा नै चिच्याहट गर्छ ? परिश्थितिको सामना गर्न छाडेर हतास हुन्छ र बन्दुक उठाउने कुरामा पुग्छ? आफ्नो असक्षमतालाई हरेक पटक विदेशी शक्ति, कर्मचारीतन्त्र र अन्य दलको टाउकोमा थोपारेर उम्कने प्रयास गर्नु के कम्युनिष्ट चरित्रमा नै पर्छ? यदि यहि विशेष धातु हो भने यो त एमाले महासचिव झलनाथ खनालमा पनि छ, काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालामा पनि छ । त्यसो भए के यि दुबै पनि कम्युनिष्ट हुन त ?

जनताले कम्युनिष्टहरूसँग जादुको छडी छ भन्ने कुरामा विश्वास गरेका थिएनन् । प्रचण्डले चमत्कार शब्दको प्रयोग गरे पनि उनीहरूलाई थाहा थियो, समय लाग्छ देश विकास गर्न । बर्षौदेखिको पुरानो संयन्त्र भत्काउने कुनै केटाकेटीको खेल होइन । जनताले मात्र हिजो जनताको बिचमा रहेर जुन किसिमको कम्युनिष्ट परिभाषा माओवादीले उनीहरूलाई बुझाएका थिए, त्यो आज माओवादीको व्यवहारमा देख्न चाहन्थे। आज त्यसको कतै कुनै अंश नदेख्दा जनता खिन्न भएका छन् । अरु केही गर्न नसके पनी, कम्तिमा माओवादी नेताहरु सरल जीवन यापन गरून्, जनताको माझमा रहिरहुन र कम्युनिष्ट नै रहिरहुन् भन्ने चाहन्छन् । जनतामा गोल्डस्टारको धङ्धङी अझै छ । नहोस् पनि कसरी? देश विकास भएको छैन, उनीहरूको जीवनमा परिवर्तन भएको छैन अनि कसरी नेताहरू मात्र विदेशी ब्रान्डका जुत्ता लगाएर हिड्न सक्छन् त ? हिजो जेका विरूद्ध जनतालाई माओवादीले प्रशिक्षित गराए आज त्यहि उनीहरु बाटोमा सानले लम्किरहेका छन् । हिजोको राजामा र आजको जनताले चुनेको प्रधानमन्त्रीमा जनता फरक देख्न चाहन्छन् । एमालेको धारमा ढल्किको मात्र होइन माओवादीले त काँग्रेसलाई पनि भोगको मामलामा धेरै पछाडी छाड्ने संकेत गरेका छन् ।

रूसमा लेनिनको टाइ र चिनमा माओको कोट (सनयात्सेन सुट माओले लाएपछि माओको सुट भयो) प्रचलित छ । त्यसैगरी प्रचण्डको पनि कुनै फेसन हुनसक्थ्यो तर, ऊनी स्वयंसँग कुनै आफ्नो मौलिकता नै देखीएन । प्रचण्डले सुट लगाए, जुन आम नेपालीको चाहना त होला, नक्कल गर्ने, तर हैसियत नै छैन । उनले छालाको जुत्ता लगाए, जुन फेरी पनि आम नेपालीले चाहेर पनि नक्कल गर्न नसक्ने कुरा भयो । देखिन्छ, प्रचण्ड नेपाली इतिहाँसमै सबै भन्दा महँगा प्रधानमन्त्री हुन र नेपाली जनता चाँही ईतिहासमै सबै भन्दा गरिब ।

माओवादी नेताहरूले आज भोली सजिलो जवाफ फेला पारेका छन् आफ्नो सारा उपभोगका सामानहरू साथीहरूले दिएको उपहार भन्ने । कमरेडहरू नेपाली जनताहरू यतिसाह्रो मुर्ख छैनन् । घुस, भ्रष्टाचार सबै उपहारकै नाउँमा हुन्छन् । हिजो काँग्रेस र एमालेका नेताहरूले पनि यसैगरी उपहारको चक्करमा आफ्नो सारा नैतिकता भेट चढाएका थिए । उपहार दिएपछि लिन्न भन्न मिल्दैन भन्नु कुतर्क हो । देशका नेताहरूले कसले कुन अभिप्रायले उपहार दिदैछ, म कुन पार्टीमा छु, मेरो के सिद्धान्त हो, सोच्नु पर्छ । उपहार लिएपछि दिनु पनि पर्छ, यो कुराको हेक्का कमरेडहरूलाई हुनुपर्ने हो । हिजो टाउकोको मोल तोकिएका बेला के यि मान्छेहरू तपाईहरूलाई उपहार दिन जंगल गएका थिए ? उपहार दिएपछि लिनै पर्यो भनेर उहि पुराना सत्ताधारीहरूको भाषा बोल्दैहुनुहुन्छ भने के मानेमा तपाईहरू कम्युनिष्ट हुनुभो ? कम्युनिष्टले त आवश्यकतामा जोड दिन्छ न कि चाहनामा! जुन देशमा प्रतिव्यक्ति आम्दानी ३ सय डलरको हाराहारीमा छ, त्यो देशमा एउटा मान्छेको तिनवटा मोबाइल सेट कसरी आवश्यकता हुन सक्छ र ? त्यो पनि आफुलाई सर्वहारा वर्गमा राख्नेहरूको?

केहि अपवाद छन्, माओबादिमा पनी । अर्थमन्त्री डा बाबुरम भट्टराई र नेता मोहन बैद्य ‘किरण’ले आफुलाई ‘उपहार’को जंजालबाट टाढा राखेका देखिन्छ । मन्त्री भट्टराईले त विदेश भ्रमणबाट फर्केपछि खर्च नभएको रकम समेत फिर्ता गरे जुन आजसम्म कुनै मन्त्रीले गरेका थिएनन् । तर दुर्भाग्य के छ भने यि नेताहरू केवल अपवादका रूपमा रहने भए । आजभोली माओवादी कार्यकर्ता यि दुई नेताको उदाहरण दिदैं पार्टीभित्र कम्युनिष्ट छवी जीवित रहको गर्व गरेर सुनाउँछन् । देशको सबैभन्दा ठुलो पार्टीमा दुईजनाको उदाहरण के ठट्टा होइन?

एमालेको भोगबादी हर्कत देखी सकेका नेपाल जनताहरुलाई अहिले माओवादीको दुइबर्षभन्दा लामो खुल्ला जीवन देखेर लागेको छ, कम्युनिष्टहरू बिचारमा सङ्किर्ण, जिवनमा सुविधाभोगी र बोलीचालीमा असभ्य हुन्छन् । माओवादीहरूले कम्युनिष्टको परिभाषालाइ पुँजीपतिको परिभाषासँग मिलाइदिएका छन् । उनीहरूको नजरमा यो ‘फ्युजन’ हुन सक्छ, तर जनताले यसलाई उनीहरूको पतनको रूपमा लिँदैछन् । जसरी एमाले खुल्ला भएपछि कम्युनिष्ट रहेन, माओवादि पनि नरहने आशंका बढेको छ ।
‘कम्युनिष्ट प्रचण्ड’को खोजमा नेपाली जनताहरूको भागमा क्रमश: निराशाको मात्रा बढ्दैछ । जुन पार्टीका अध्यक्षले हिजो नोकियाको साधारण सेट बोक्थे आज त्यहि पार्टिका सामान्य कार्यकर्ताको हातमा दुई, तिनवटा महँगा महगाँ सेटहरू छन् । उनीहरूका धेरैजसो नेताहरूसँग गाडी छन्, र नेताकै छोरा भएका नाताले पनि गाडी हुनु सामान्य कुरा भएको छ । बेडिङ र बिस्ताराको त सार्बजनिक बहश नै भयो । तर, नेपाली जनताहरू अझै पनि प्रचण्डहरुमा कम्युनिष्ट खोजिरहेका छन । देशको लागी केहि राम्रो गर्न नसके पनी, कम्तिमा कम्युनिष्ट नैतीकतामा बसिदिए माओबादीलाई धन्यबाद दिन मिल्थ्यो की? यति बेला सोध्न मन लागेको छ प्रचण्डलाई, स्टालिनले भनेको ‘बिशेस धातु’ कुन कम्युनिष्टमा हुन्छ कुन्नी ?

Be Sociable, Share!

2 thoughts on “विशेष धातुका कम्युनिष्टहरु?

  1. arko bidroha hunu jaruri xa. tyo na rajyasttako biruddha na ta rajyasanyantra ma pugnako lagi hos. tyo ta kewal rajyaka bigreka vrasta thekedarharulai thik parna ra rajya sanyantralai niyam anusar chalna badhya bananako laagi hos.
    aba deshlai neta haina sachcha paharedaar matra chahieko xa. falna uchit mauka dida pani nafalne hangaharulai kaatchhat garnu jaruri xa yo nai nepalko aawasyakta ho.

  2. तपाईँको लेखमा वास्तविकता छ आन्विका जी……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *