सहनशील शहर

‘काठमाडौं शहर हेर्दा लाग्छ रहर, गिद्धै गिद्धको शहर! दिमाग चला पासा, पैसा खस्छ बरर …!’

गत वर्ष खुब चलेको नेपाली चलचित्र ‘लूट’ का पात्र हाकु कालेले काठमाडौंलाई यसरी गरेको व्याख्यालाई दर्शकले औधी मन पराए। सार्वजनिक बसमा होस् या काठमाडौंमा जोडेको निजी कारमा, अस्ति दशैं मनाउन घर जाँदाजाँदै पनि धेरै मान्छेले यो शहरलाई सकेको गाली गरे। दशैंपछि उनीहरू फेरि ‘यो स्वार्थी, पीडक शहर’ भन्दै काठमाडौं छिरे। फेसबुकका भित्ता र ट्वीटरको टाइमलाइनहरूमा छाएका त्यस्ता स्टाटस्मा अझै पनि ‘लाइक’ को वर्षा भइरहेको छ।
बाहिरका त बाहिरिया भइहाले, यहींकाहरू पनि काठमाडौंसँग निकै रिसाएका देखिन्छन्। उनीहरू यहाँबाट बाहिरिंदा ‘आनन्द’ अनुभव गर्छन् र भित्रिंदा ‘दिक्क’ मान्छन्। लाग्छ, जो पनि काठमाडौंलाई एकचरण गाली नगरी ननिदाउने भएका छन्। यहींका, बाहिरका जोसुकै हुन् हरेकबाट दुत्कारिनु काठमाडौंको नियति भएको छ। यो पंक्तिकारले फेसबुकमा काठमाडौंबारे तपाईंको मनमा के छ भनेर लेख्दा आएका २६ प्रतिक्रियामध्ये जम्मा दुइटा सकारात्मक थिए। काठमाडौंप्रतिको गुनासो, इर्ष्या वा रीस नयाँ होइन, जुन अहिले यो ढंगले व्यक्त भइरहेको छ। काठमाडौंलाई बद्नाम गरिएको साहित्य, चलचित्र हिट हुने संभावना बढेको बढ्यै छ।

विचरा काठमाडौं

देशको राजधानी र राजनीतिको केन्द्र भएकाले काठमाडौंसँग आम नेपालीका धेरै अपेक्षाहरू छन्। देशमा विकास नभएको कारण नै काठमाडौं हो भन्नेहरूको जमात पनि ठूलै छ। हुन पनि, मेची–महाकालीको भाग्यको निर्णय अझै काठमाडौंको हातमा छ। यो मेसोमा काठमाडौंले खेप्नुपरेको भीषण संवेगहरूको एकोहोरो प्रहार भने कृतघ्नताको तहसम्म नाजायज हुन पुगेको छ। मुलुकको केन्द्रीय राजनीतिको थलो हुनु भनेको अरू शहर जस्तो नहुनु अथवा कृतज्ञताको अपेक्षा गर्ने अधिकार गुमाउनु होइन। सोचौं त, जीवनवृत्तिका लागि हामी बसेर त्यसैको बदख्वाइँ गरेको शहर काठमाडौं बाहेकका परेको भए त्यो सम्भव हुन्थ्यो होला?

काठमाडौंले रैथाने बाहेक म र तपाईंजस्ता अनेक पढाइ वा अरू बहानामा छिरेर नफर्केका लाखौंलाई धानिरहेको छ। हामी यहाँ वर्षौंदेखि बसिराखेका छौं, र पनि काठमाडौंलाई आफ्नो मान्दैनौं। सडकमा पिच्च–पिच्च थुक्दै हिंड्छौ, किनकि यो हाम्रो शहर होइन। साँझ्–बिहान खोलामा फोहोर फाल्छौं, किनकि यी हाम्रा होइनन्। अरू त अरू, केही वर्षअघि खाली हात राजधानी छिरेर बंगला र स्पोर्टस् युटिलिटी भेइकल (एसयुभी) जोडेकाहरू समेत त्यही सोचिरहेछन्, गरिरहेछन्।

यो शहर हो, जोसँग हामीलाई अलमल्याउने, बहकाउने धेरै थोक छ। त्यो त हरेक शहरसँग हुन्छ। काठमाडौंमा हामी यही कारण रमाएका छौं। हामीलाई बूढा बाआमालाई गाउँमा छाडेर कुनै पनि हालतमा यहीं बस्नुछ, यही शहरमा भविष्य बनाउनु छ, कम्तीमा एउटा घर बनाउनुछ। काठमाडौं बाहेकका नेपाली शहरका स्कूल, क्याम्पस वा अस्पतालहरूमा हाम्रो विश्वासै नभएकाले हामी यहाँ थुप्रिएका छौं। अरू शहरमा भन्दा यहाँ हामी बढी रचनात्मक र मुखर हुन सक्छौं। हामीलाई काठमाडौंले जानी–जानी हाम्रो धारासम्म पानी नपुर्‍याएको, धूलो उडाएको जस्तो लाग्छ। यो पनि लाग्छ कि हामीलाई काठमाडौंले नै सडकमा फोहोर फाल्न सिकाएको हो। यो शहरको राजनीतिले पारेको सेपको तुष हामीमा बढी नै छ, शायद।

आफू बसेको शहरप्रति हाम्रो दायित्व चाहिं हुन्छ कि हुँदैन? यो शहर दुर्गन्धित हुँदा मास्क लगाएको मुखले गाली गर्दै हिंड्ने कि सरसफाइमा जुट्ने? आफू पनि नियममा बस्ने कि बेथिति भएको दोष काठमाडौंलाई नै दिइरहने? काठमाडौंमा हामी खुशी हुन सक्दैनौं भने घर फर्कने विकल्प खुल्ला छ। आजभोलि गाउँमा खेतबारी बाँझै हुन थालेका छन्। हामी थपक्क गाउँ नफर्की राजधानीमै टाँसिनु काठमाडौंको बाध्यता हो र?

(यो लेख हिमाल खबर पत्रिकमा प्रकाशित भएको हो )

Be Sociable, Share!

One thought on “सहनशील शहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *