हामी कुण्ठा पोख्न लेखिरहेका छौं !

सौर्यमा प्रकाशित अन्तरवार्ता! लेख्दै गर्दा आफुले विगतमा दिएका जवाफहरु पनि ख्याल गर्नु पर्ने हुन्छ, त्यसैले आज फेरी आफुले भनेका कुराहरु दोहोर्याएर पढें !

आन्विका गिरी समकालीन नेपाली कथाकारबीच जानपहिचानको नाम हो । उनको पहिलो कथासंग्रह ‘कम्युनिस्ट’ निकै रुचाइएको कृति हो । गिरी मजदुर, किसान अनि आममान्छेको जिन्दगीसाग जोडिएका विषयहरूमा आफ्ना पात्र खोज्छिन्, र त्यहाा परिस्थितिअनुसार पाठकलाई आफ्नो अनुहार देखाइदिन्छिन् । शैली, भाषा, संवेदना र समाजको सटिक चित्रणका लागि उनका कथा रुचाइन्छन् । उनका ‘कम्युनिस्ट’, हिरोहोण्डा’लगायत कथा चर्चित छन् ।

अहिले बजारमा हटकेक हुनुभाको छ, तपाइंका कथा रुचाइएका छन् । पछिसम्म पनि ती कथा अजर–अमर होलान् ?

हटकेक ? यो शब्द साहित्यमा अलि धेरै फ्यान्सी भयो जस्तो लाग्यो । म हल्लाहरूबाट बाहिर छु । साहित्यिक कार्यक्रममा पनि म खासै नजाने भएकाले कहिलेकाहीँ त म मेरा कथाहरूको प्रतिक्रियासमेत थाहा पाइरहेको हुन्न । जहाँसम्म कथाहरूको अजर–अमरताको कुरा छ । मेरो कोसिस मेरा कथाहरूले वर्तमान समयको राम्रोसँग व्याख्या गर्न सकुन् भन्ने हो त्यसो भयो भने भविष्यमा मेरो कथाहरूको खोजी त होला नै । तर, त्यसमा मेरो नियन्त्रण हुँदैन । म त प्रयाससम्म गर्न सक्छु ।

तपाईंको कथा ‘हिट’ हुनुमा आफ्नो व्यक्तिगत भोगाइ कत्तिको जिम्मेवार छ ?

मलाई के लाग्छ भने मान्छेले पहिले आफ्नै भोगाइबाट लेखनको सुरुआत गर्छ । मैले पनि त्यसै गरेँ । यसको मतलब यो होइन कि सबै मेरा कथाहरू हुन् । मेरो व्यक्तिगत भोगाइभन्दा पनि कथामा उठाइएका विषयवस्तुको प्रस्तुतीकरण कथा रुचाइनुका कारण हुन सक्छन् ।

भनिन्छ, आन्विकाको कथा आवेगहरूको एउटा थुप्रो हो । तपाईंका कथामा बढी आवेग हुन्छ कि विवेक ?

आवेगमा नआई त म कथा लेख्नै सक्दिनँ । जबसम्म कुनै विषयले मलाई भित्रैसम्म घोच्दैन, मलाई रुन चाहेर पनि रुन नसक्ने स्थितिमा पुर्‍याउँदैन तबसम्म त म लेख्नेबारे सोच्नै सक्दिनँ । जब कुनै कुराले मेरो मथिंगल कचमच्याउँछ अनि बाटोमा हिँड्दा पछाडिबाट बजेको गाडीको हर्न सुन्न छाड्छु वा अगाडिको गाडी देख्न छाड्छु तब मात्र मलाई लाग्छ, ल यो विषयमा अब मैले लेख्नुपर्छ । त्यसैले आवेग त कथामा आउँछ नै । तर, आवेगकै थुप्रो हो भन्ने कुराचाहिँ म मान्दिनँ किनकि म आफ्ना कथामा तर्क स्थापित गर्न खोज्छु विवेक नभई त त्यो कहाँ सम्भव छ र ?

नेपाली कथाको स्तर बढ्दो छ या घट्दो ?

म यतिखेर कथाको स्तरको मूल्यांकन गर्न सक्दिनँ । मूल्यांकनका लागि मैले अघिल्लो पुस्ता र अहिलेको पुस्तालाई राम्रोसँग पढेको हुनुपर्छ । त्यो मैले गरिसकेको छैन । मैले पढेका केही पुराना कथा मलाई सारै झुर पनि लागेका छन्, केही नयाँ मान्छेका कथा गजब पनि लागेको छ तर त्यसैको आधारमा म स्तरको मापन गर्न सक्दिनँ ।

तपाईंलाई असाध्यै मनपर्ने कथाकर, जुन कथाकार आफैँ हुन पाएको भए भन्ने लाग्छ ?

अरूजस्तो हुनेबारे त म कहिल्यै सोच्दिनँ । त्यो त फेरि हावामा उड्ने कुरा हो जस्तो लाग्छ । कथा मन पर्नु र कथाकारजस्तै हुन खोज्नु त एकदम फरक कुरा हो नि । यसको अर्थ फेरि मलाई मन पर्ने कथाकार छैनन् भनेको होइन ।

तपार्इंको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के/घाटा के ?

मलाई लाग्दैन त्यसको लेखाजोखा गर्ने समय भइसक्यो । फेरि भयो नै भने पनि म आफैँले यसको लेखाजोखा गर्न मिल्दैन । जीवनको उत्तराद्र्धमा यदि त्यसबेलासम्म पनि मैले लेखिरहेँ भने मेरा पाठकले, समालोचकले यसको लेखाजोखा राख्लान् । त्यतिखेर मैले फाइदा पुर्‍याएको नदेखिए पनि घाटा लगाएको भन्ने पनि नदेखियोस् भन्ने मेरो प्रयत्न रहनेछ ।

तपार्इंको चर्चित कथा ‘हिरोहोण्डा’मा उल्लेख गरिएकी महिला के हुन् ? कि त्यो एउटा कल्पनिक चित्र मात्र हो ?

म प्रवृत्तिमा केन्द्रित रहेर कथा लेख्ने मान्छे भएकाले मेरा पात्रहरू काल्पनिक हुँदैनन् । म कुनै साइन्स फिक्सन लेखिरहेको छैन । मेरा कथाका सबै पात्र हाम्रो समाजमा छन् । तपाईं हरेक दिन कहीँ न कहीँ तिनीहरूसँग ठोक्किरहनुभएको छ । तर, मानिसहरू चाहन्छन् कि म कुनै एउटा मान्छेलाई औँला तेस्र्याएरै देखाऊँ कि ऊ त्यो मान्छे हो मेरो कथाको पात्र र ‘हिरोहोण्डा’ को सवालमा पनि मैले प्रवृत्ति देखाउन खोजेको हुँ, पात्र को हो भन्ने कुरा त्यति महत्त्वपूर्ण राख्दैन । तर, मैले भनिसकेँ, मेरा पात्रहरू समाजमा छरिएका छन् । मैले कुनै अर्को ग्रहबाट तिनलाई उतारेको होइन ।

धर्म, ईश्वरप्रति तपाईंको के धारणा छ ? आख्यानमा धर्मको स्थान कस्तो हुनुपर्छ ?

व्यक्तिगत रूपमा म नास्तिक हुँ । धर्म र ईश्वरप्रति मेरो आस्था छैन । तर, म नेपालमा धर्मले मानिसलाई नैतिक रूपमा बाँधेको देख्छु । यहाँ मानिसहरू कानुनसँग, प्रहरीसँग डराउँदैनन् तर ईश्वरसँग डराउँछन् । तर, फेरि ठ्याक्कै कस्तो स्थान हुनुपर्छ भन्नेबारे म भन्न सक्दिनँ । मैले आफ्ना कथामा धर्मका बारेमा खासै चर्चा गरेकी छैन, अहिले महसुस गर्दैछु मेरा पात्रहरूमा म हाबी छु, जसरी म ईश्वरको बारेमा केही सोच्दिनँ तिनीहरू पनि सोच्दैनन् ।

अहिलेसम्म कथा लेखेर के पाउनुभयो ? के गुमाउनुभयो ?

म हिसाबमा निकै कमजोर विद्यार्थी हुँ । त्यसैले पाउने, गुमाउनेजस्ता कुराको हिसाबकिताब राख्ने झन्झट गर्दिनँ । म हिसाबबाट परै रहन चाहन्छु नत्र मलाई म सधँै फेल हुने डर लागिरहन्छ जस्तो मलाई स्कुलमा लागिरहन्थ्यो ।

नेपाली आख्यानले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?

राजनीतिमा मात्र होइन, मलाई लाग्दैन हाम्रो साहित्यले कुनै पनि क्षेत्रमा खासै प्रभाव पारेको छ । हामी आफ्नो आत्मसन्तुष्टिका लागि लेखिरहेका छौँ । हामी आफैँमा कुनै कुरामा प्रभाव पार्ने जाँगर छैन । हामी लेखेर आफ्नो कुण्ठा पोख्छौँ । यहाँ साहित्यबाट वाहवाही मात्र पाउन मानिसहरू मरिमेटेर लागिपरेका छन् । जिम्मेवारी बोध त पटक्कै देख्दिनँ । म त साहित्य ‘वाह’ र ‘क्या’ लेखेको छ भनेपछि फुस्स भ’को देख्छु । र मलाई लाग्दैन साहित्यको प्रभावकारिताको बारेमा यहाँ कोही सचेत छ । अहिले त ‘मेरो पुस्तक कति हजार प्रति बिक्छ’, ‘कुन कुन पुरस्कार पाउँछ’ भन्नेतर्फ लेखकको सारा ध्यान केन्द्रित छ ।

साहित्यका थुप्रै विधामध्ये नेपालका सन्दर्भमा कुन बढी प्रभावकारी देख्नुहुन्छ ?

उपन्यास सबैभन्दा बढी पढिने विधा हो जस्तो लाग्छ । बढी पढिने हुँदा यो नै बढी प्रभावकारी पनि होला कि । आन्दोलनताका कविता प्रभावकारी भएको पनि मैले अनुभव गरेँ ।
पछिल्लो समय पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको कथासंग्रह कुन हो ?

मैले पछिल्लो समय धेरै पुस्तक पढेकी छैन, पढेका थोरैमध्ये अभय श्रेष्ठको ‘तेस्रो किनारा’ मलाई प्रभावकारी लाग्यो ।

तपाईंका कथाले हामीले भोगेको द्वन्द्व र राजनीतिका आयामलाई कुन हदसम्म पक्रिएका छन् ?

मेरा सबै कथा नै हामीले भोगेको द्वन्द्व र राजनीतिका बारेमा केन्द्रित छन् । विशेषत: माओवादी द्वन्द्वका बारेमा म धेरै नै केन्द्रित भएँ कि भन्ने पनि लाग्छ । मलाई लाग्छ म अलि ‘क्रिटिकल’ भएको छु ।

तपाईंको जीवनमाथि कसैले सिनेमा बनाउन चाह्यो भने त्यो कत्तिको रोचक होला ?

तपाईंलाई के लाग्छ, अबेरसम्म सुत्ने अनि मुख नै नधोई कम्प्यूटरमा घोत्लिने, सेन्स अफ ह्युमर पटक्कै नभाको मान्छेको बारेमा कसलाई रुचि हुन सक्छ ? म मान्छे पटक्कै रोचक छैन त्यसैले सिनेमा पनि रोचक नहोला । ढिलोसम्म सुत्न मन पराउने भएकाले सिनेमामा निदाएको दृश्य धेरै हुन्छ होला अनि दर्शकहरू पनि दिक्क मानेर हलमै निदाउँछन् ।

मानिसलाई जीवनले बढी लखेट्छ कि मृत्युले ?

खोइ, म यस्ता कुराहरूको बारेमा खासै सोच्दिनँ । कस्तो भयंकर कुरा जस्तो लाग्छ, दार्शनिकहरूले गर्नेजस्तो । मृत्युका बारेमा म गम्भीर पनि छैन न त ८० वर्षसम्म बाँचे भने यसो गर्छु भनेर मैले केही साँचेको छु । फेरि मलाई यस्ता प्रश्नको उत्तर कविहरू वा दार्शनिकले राम्ररी देलान् भन्ने लाग्छ ।

तपाईंलाई मर्न डर लाग्छ कि नराम्रो कथा लेख्न ?

नराम्रो कथालाई मृत्युसँग तुलना गर्न मिल्दैनजस्तो लाग्छ । यसको मतलब मलाई मृत्युसँग डर लाग्छ भन्नेचाहिँ होइन । सधँै राम्रा कथाहरू नै लेखिन्छ भन्ने होइन । नराम्रो लेख्न त को चाहन्छ र ? तर, नराम्रोको निरन्तरता हुनु भएन र राम्रो लेख्ने आफ्नो प्रयास सधैँ हुनुपर्‍यो ।
नेपालमा नारीवादी साहित्यिक आन्दोलनको आवश्यकता कत्तिको देख्नुभएको छ ?

म यो नारीवादी साहित्यिक आन्दोलन भनेको बुझ्दिनँ । मैले कहिल्यै आफ्नो लेखनलाई ‘नारीवादी साहित्य’ भनेर हेरेको छैन । मलाई म एक सचेत नागरिक भएकाले समाजका उठाउनुपर्ने विषयमा कथा लेख्छु । म महिला भएर, जनजाति भएर, दलित भएर वा कुनै ट्याग लिएर कथा लेख्दिनँ । यो कस्तो ट्याग हो, त्यसका बारेमा पनि म प्रस्ट छैन । जब म मुद्दाकै बारेमा प्रस्ट छैन, आन्दोलनको आवश्यकताका बारेमा के भन्न सक्छु र ?

तपाईं आफ्ना कथामा वैचारिक आग्रह लेख्नुहुन्छ या अनुभूतिको सम्प्रेषण मात्रै ?

अनुभूति त अनुभूति नै हो तर विचारले मेरो अनुभूतिलाई आकार दिन मद्दत गरेको छ । मलाई विषयहरूको बारेमा प्रस्ट हुन मद्दत गर्छ तर त्यसमा आग्रह आउनु हुन्छ जस्तो मलाई लाग्दैन । कसैलाई म आफ्नो विचार लाद्न चाहन्नँ ।

के धान्न गाह्रो लाग्छ ? यौवन कि आलोचना ?

यस्ता प्रश्नका जवाफ त शो–विजमा हुनेहरूले जानेका हुन्छन् । म जान्दछु, तपाईंले विशुद्ध शारीरिक यौवनको कुरा गर्नुभएको हो तर म त लेखक हुँ । मेरो यौवन त मैले लेखुन्जेल रहन्छ । त्यसैले म जबसम्म लेखिरहन्छु तबसम्म जवान हुन्छु अनि आलोचना र प्रशंसा पनि भइरहला ।

प्रस्तुति : दीपक सापकोटा

Be Sociable, Share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *