हाम्रो छाती र लिलामको बहादुरे

जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा भोली त्यो अझ गाढा हुनेछ!

उपन्यासको ´नायक´ बहादुरे हो । गरिब छ । भन्न त मर्ने बेलामा उसको बाउले ऋण छैन भनेको हो तर गाउँका ठालुहरूले ऋणको शीर्षकसहित तिर्नुपर्ने रकमको हिसाब सुनाए । पढेको थिएन, खोइ हेरौं त हिसाब किताब भन्न सकेन । ठालुहरूका मुख लाग्न पनि सकेन । अनि जायजेथा लिलामीको अवस्था आइलाग्यो । लिलामी हुने पक्का भएपछि माइली छोरीले आफैं बिहा नगरेकोमा उसलाई पीडा हुन्छ। स्वास्नी अरूसँग नसल्किएकोमा रिस उठ्छ । मर्न खोज्छ, त्यो पनि सक्दैन । लिलामीको बिहानीमा ठुलाबडालाई अटेर गर्न पनि उसलाई रक्सीको सहारा चाहिन्छ । जाँडले के सहारा देओस्, पछारिन्छ ।

कथा यत्ति हो, जगदीश घिमिरेको चर्चित उपन्यास ´लिलाम´ को! सरूभक्तको ´पागलवस्तीको जस्तो कथा हुँदै नभएको बस्तीको होइन । त्यसैले पाठक आख्यानकारको कल्पना भनेर तर्किन सक्दैन । हामीले बहादुरेलाई हाम्रो गाउँमा भेटेका छौं, सहरमा पनि भेटेका हुन्छौं । ऊ सहरमा अलि भिन्न रूपमा छ, केही न केही लिलाम गर्दै वा उसको केही न केही लिलाम हुँदै गरेको हुन्छ । फरक यत्ति छ, त्यतिबेला बहादुरे सामन्तवादको चपेटामा परेको थियो । अहिले बहादुरेलाई पुँजीवादले लिलामको संघारमा तानेको छ । पेटभरी खान नपाएको बहादुरेका हात आफूतिर पुँजीवादलाई तान्न सक्ने जति दह्रा छैनन्। उसकी छोरी यतिबेला काठमाडौंमा यौनकर्मी हुन्थी होली। स्वास्नी पनि आफूलाई बिकुन्जेल बेच्थी होली । बहादुरे के गर्थ्यो होला? देशमा उद्योग बिनाको दलाल पुँजीवाद छ, बहादुरेको भुमिका निःसन्देह दलालको हुन्थ्यो होला! छोरी र स्वास्नीको लागि स्वयं ग्राहक खोज्थ्यो होला ।

लिलाम पढ्ने क्रममा नै तीन बर्ष अगाडी भनेजस्तो जागिर नपाएर कतार भासिएको मेरो साथीसँग मेरो इमेल वार्ता चलिरहेको थियो । उसले दुई महिना अघि लेखेको थियो, ´म यतैबाट अमेरिका जाने प्रक्रिया मिलाउँदैछु । ग्रीन कार्ड नलिई म नेपाल आउँदिन´ अमेरिकाको आर्थिक मन्दीले नेपालीलाई केही फरक पार्दैन । भाडा माँझ्नु हो, पैसा डलरमा आउँछ । मन्दी नै भएपनि नेपालमा त्यसको दर सत्तरीभन्दा माथीको अंकले गुणन गरेर निकाल्नुपर्छ । उसको अमेरिका हान्निने कुरापछि बन्द भएको वार्ता उसले म, अर्थात पत्रकार साथीलाई लेख्यो, ´के हो समाचारमा त भारतले नेपालको सीमा मिचेको पढ्दैछु नि!´ मैले मेरो विदेसिएको साथीलाई थप सूचना नदिई लेखे, ´तिमी अमेरिका जाने सुरमा छौ, यस्ता कुराले तिमीलाई के?´ उसले नेपाली मात्र भएर नेपालीलाई जम्मा तीन शब्द लेख्यो, ´छाती दुख्छ बुझ्यौ!’
Continue reading

राजनीतिक रोगीको ‘दिल्ली उपचार’

(पुरानो लेख, जुन मैले 2009-03-12 मा लेखेको थिए, नयाँ पत्रिकामा छापिएको थियो)

हामीले फेरि एउटा घिनलाग्दो नाटक हेर्नुपर्ने बाध्यता आइलागेको छ। यस नाटकको प्रथम शंृखलामा हाम्रो देशका घगडान नेताहरू अस्वस्थ भएका छन्। तिनीहरू उपचार गर्न दिल्लीको साउथ ब्लकनजिकैको कुनै अस्पतालमा भर्ना भएका छन्। बिरामी जँचाएर उब्रेको समयमा भारतीय नेताहरूसँग छोटो कुराकानी गर्न भ्याएका छन्। नेताहरूको अनुकूल राजनीतिक परिस्थिति नभएपछि स्वास्थ्यमा समस्या आउनु र उपचारका लागि दिल्ली नै जानु हामीले देखिरहेको पुरानै नाटक हो। यसपालि फरक के छ भने यस नाटकमा केपी ओली नाम गरेका पात्र पनि बिरामीका रूपमा थपिएका छन्। सदाझैं गिरिजाप्रसाद कोइराला नाटकमा मुख्य पात्रका रूपमा रहेका हुन्थे। कुनै न कुनै बहानामा अरू पात्र दिल्ली जाने जनाउ मञ्चका सूत्रधारका रूपमा रहेका मिडियाले दिएका छन्।

गद्दीच्यूत राजा ज्ञानेन्द्र, सूर्यबहादुर थापालगायत सबैले नाटकमा हिस्सा लिएकामा नेपाली जनतालाई आश्चर्य छैन। हामीले यी पात्रबाट यसभन्दा बढी अपेक्षा पनि गरेका थिएनौँ। दर्शकहरू ः हामी जनता नाटकबारे हरेक पटकझैं यसपालि पनि अनभिज्ञ छौँ। हाम्रो मनमा एउटा प्रश्न छ, के नेपालका डाक्टरहरू यति निकम्मा छन् त ? हाम्रा नेतालाई ठीक पार्नै सक्दैनन् ? फेरि, जवाफ हामीसँगै छ, स्वास्थ्यसम्बन्धी रोग भए पो निको पार्न सकून् त ! सत्ताको रोग निको पार्ने सामथ्र्य त यी शुद्ध प्राविधिकहरूसँग कहाँबाट होस् ! उनीहरूलाई चाहिएको त धेरै वर्षदेखि साउथ ब्लकले राजनीतिक रूपले पालेका कूटनीतिक डाक्टरहरू पो हुन् त।
Continue reading

विदेशी मित्र

यो कथा मैले सन् २००६को अन्त्यतिर लेखेको हो! समय साप्ताहिक र Y! पत्रिकामा छापिएको थियो! मैले एउटा रेस्टुरेन्टमा कसैलाई कुर्ने क्रमको झन्डै २५ मिनेट भित्रमा यो कथा लेखि भ्याएको थिए! कथा “कम्युनिष्ट” कथा संग्रहमा समावेश छ!

“तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन।

हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे।

“तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको उद्देश्य पनि मलाई चिढ्याउने हुन्थ्यो, तर म चिढिन्नथे।

सत्ते!

“ऊ मेरो प्रेमी होइन”

“भुतपूर्व त हो नि!”

“ऊ सधै दाह्री पाल्दैन।”

“मैले देख्दा त थियो नि!”

बाहिर कुकुर भुकेको सुनिन्थ्यो, भित्र हाम्रो जुधाइले विस्तारै उचाइ लिन थाल्थ्यो।
Continue reading