हामी कुण्ठा पोख्न लेखिरहेका छौं !

सौर्यमा प्रकाशित अन्तरवार्ता! लेख्दै गर्दा आफुले विगतमा दिएका जवाफहरु पनि ख्याल गर्नु पर्ने हुन्छ, त्यसैले आज फेरी आफुले भनेका कुराहरु दोहोर्याएर पढें !

आन्विका गिरी समकालीन नेपाली कथाकारबीच जानपहिचानको नाम हो । उनको पहिलो कथासंग्रह ‘कम्युनिस्ट’ निकै रुचाइएको कृति हो । गिरी मजदुर, किसान अनि आममान्छेको जिन्दगीसाग जोडिएका विषयहरूमा आफ्ना पात्र खोज्छिन्, र त्यहाा परिस्थितिअनुसार पाठकलाई आफ्नो अनुहार देखाइदिन्छिन् । शैली, भाषा, संवेदना र समाजको सटिक चित्रणका लागि उनका कथा रुचाइन्छन् । उनका ‘कम्युनिस्ट’, हिरोहोण्डा’लगायत कथा चर्चित छन् ।

अहिले बजारमा हटकेक हुनुभाको छ, तपाइंका कथा रुचाइएका छन् । पछिसम्म पनि ती कथा अजर–अमर होलान् ?

हटकेक ? यो शब्द साहित्यमा अलि धेरै फ्यान्सी भयो जस्तो लाग्यो । म हल्लाहरूबाट बाहिर छु । साहित्यिक कार्यक्रममा पनि म खासै नजाने भएकाले कहिलेकाहीँ त म मेरा कथाहरूको प्रतिक्रियासमेत थाहा पाइरहेको हुन्न । जहाँसम्म कथाहरूको अजर–अमरताको कुरा छ । मेरो कोसिस मेरा कथाहरूले वर्तमान समयको राम्रोसँग व्याख्या गर्न सकुन् भन्ने हो त्यसो भयो भने भविष्यमा मेरो कथाहरूको खोजी त होला नै । तर, त्यसमा मेरो नियन्त्रण हुँदैन । म त प्रयाससम्म गर्न सक्छु ।

तपाईंको कथा ‘हिट’ हुनुमा आफ्नो व्यक्तिगत भोगाइ कत्तिको जिम्मेवार छ ?

मलाई के लाग्छ भने मान्छेले पहिले आफ्नै भोगाइबाट लेखनको सुरुआत गर्छ । मैले पनि त्यसै गरेँ । यसको मतलब यो होइन कि सबै मेरा कथाहरू हुन् । मेरो व्यक्तिगत भोगाइभन्दा पनि कथामा उठाइएका विषयवस्तुको प्रस्तुतीकरण कथा रुचाइनुका कारण हुन सक्छन् ।

भनिन्छ, आन्विकाको कथा आवेगहरूको एउटा थुप्रो हो । तपाईंका कथामा बढी आवेग हुन्छ कि विवेक ?

आवेगमा नआई त म कथा लेख्नै सक्दिनँ । जबसम्म कुनै विषयले मलाई भित्रैसम्म घोच्दैन, मलाई रुन चाहेर पनि रुन नसक्ने स्थितिमा पुर्‍याउँदैन तबसम्म त म लेख्नेबारे सोच्नै सक्दिनँ । जब कुनै कुराले मेरो मथिंगल कचमच्याउँछ अनि बाटोमा हिँड्दा पछाडिबाट बजेको गाडीको हर्न सुन्न छाड्छु वा अगाडिको गाडी देख्न छाड्छु तब मात्र मलाई लाग्छ, ल यो विषयमा अब मैले लेख्नुपर्छ । त्यसैले आवेग त कथामा आउँछ नै । तर, आवेगकै थुप्रो हो भन्ने कुराचाहिँ म मान्दिनँ किनकि म आफ्ना कथामा तर्क स्थापित गर्न खोज्छु विवेक नभई त त्यो कहाँ सम्भव छ र ? Continue reading

मृत्यू : हिजो, अस्ति र आज

कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै बजे उठ्नुहुन्थ्यो । आमा ओछ्यानमा नभएपछि मलाई लाग्यो, चार बजिसकेछ ।

को रोएको होला यति बिहानै भनेर मलाई झर्को लाग्यो । मेरी आमा पो चार बजे उठ्नुहुन्थ्यो, मेरो त उठ्नेबेला भएको थिएन नि । मैले जोड गरेर आँखा चिम्लन प्रयास गरें तर सकिनँ । रुवाइ धेरै परबाट होइन, मेरै आँगनबाट आएको थाहा पाउन मलाई बेर लागेन । मान्छेहरूको कल्याङमल्याङ पनि बढ्दै गएको थियो । मैले झ्याल उघारे । पूरै गाउँ उल्टेर आँगन भरिएको थियो । कोही ‘बिचरा’, कोही ‘च्वच्व’ त कोही ‘पापीहरू’ भन्दै थिए । सबै एकैचोटि बोलिरहेकाले होला मैले प्रस्ट केही बुझ्न सकिनँ । सबको बीचमा घेरिएर रोइरहेकी आइमाई झन् जोडले झन् जोडले रुन थालेपछि म दौडिएर तल झरें । म तल झर्दा अर्को टोलका बूढाकाका हातमा लालटिन लिएर आउँदै थिएँ । म भीड चिरेर त्यो रोइरहेकी आइमाईलाई हेर्न छिरें । कस्तो बुद्धु थिएँ म त्यतिबेला, आफ्नै आमा रोएको पनि मेसो पाएको थिइनँ । बूढाकाकाको लालटिनको उज्यालोमा मैले आमाको आँसुले भिजेको अनुहार देखें । भीडमा हाफ भेस्ट मात्र लगाएर जाडोले काम्दै गरेको मलाई देखेर आमाले गम्लंग अँगालो हाल्नुभो, ‘पापीहरूले बुवालाई मारे ।’

रातिमात्र म भोलिबाट स्कुल जाने सपना देख्दै सुतेको थिएँ । बाले ल्याइदिएको नयाँ किताब, नयाँ लुगा, नयाँ कापी, नयाँ कलम बोकेर आफंै पनि नयाँ भएर जाने रहरले निदाउन दिएको थिएन । बाले हप्काउन परेको थियो । बाकै डरले आमाको छातीमा डल्लो परेर म निदाएको थिएँ । Continue reading