म मर्दिन कमरेड !

यो कथा मुल्यांकन मासिकमा २०६७ सालको दशैं अंकमा छापिएको थियो | यो कथा ०६७ बैशाषमा एमाले झापाका कार्यकर्ता डेकेन्द्र राजवंशीले एमाले मुख्यालय बल्खुमै आत्महत्या गरेको र उनका छोरा शम्भुले पनि पाँच महिनापछी आत्महत्या गरेको पृष्ठभूमीमा लेखिएको हो |

सरोजकी आमा रोएकी थिइनन्। आँखाका डिलहरुबाटै थाहा लाग्थ्यो, उनको एकथोपा आँशु पनि बहेको थिएन। म खबर पाएको एक घण्टामा नै गएको थिए। उनी रुँदै होलिन् भनेर सान्त्वनामा के भन्ने भनेर आधा घण्टाको बाटोभरी म सोच्दै थिए। घर पुग्दा उनी आँगनको कुनामा बाधेको गाइलाई घाँस हाल्दै थिइन। भत्कनै लागेको पिढीमा केहि आइमाइहरु बसिरहेका थिए। उनीहरु सप्कोले सिँगान र आँशु दुबै पुछ्दै थिए। उनीहरुका आँखा कहिले आँगनको विचको लाशमा त कहिले गाइलाई घाँस हालिरहेकी सरोजकी आमामाथि थियो। केहि लोग्नेमान्छेहरु पनि थिए जो आँगनमा उनको छोराको लाशलाई कात्रोले छोप्दै थिए। केहि केटाकेटीहरु पनि थिए जो लाशलाई डराइडराइ हेरिरहेका थिए। अरु पनि केहि मान्छे थिए, जो खासखुस गर्दै थिए।

त्यहि खासखुसबाट थाहा भयो, सरोजले विहान ११ बजे घर मुन्तिरको बकैनाको बोटमा झुण्डिएर आत्महत्या गरेको रहेछ। अनि भिड मै कसैले भन्यो, “धेरै टेन्सन छ भन्दैथियो” Continue reading

मृत्यू : हिजो, अस्ति र आज

कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो उज्यालो हुन नदिने मलाई थाहा थियो । आमा गाईलाई खोले पकाउन चारै बजे उठ्नुहुन्थ्यो । आमा ओछ्यानमा नभएपछि मलाई लाग्यो, चार बजिसकेछ ।

को रोएको होला यति बिहानै भनेर मलाई झर्को लाग्यो । मेरी आमा पो चार बजे उठ्नुहुन्थ्यो, मेरो त उठ्नेबेला भएको थिएन नि । मैले जोड गरेर आँखा चिम्लन प्रयास गरें तर सकिनँ । रुवाइ धेरै परबाट होइन, मेरै आँगनबाट आएको थाहा पाउन मलाई बेर लागेन । मान्छेहरूको कल्याङमल्याङ पनि बढ्दै गएको थियो । मैले झ्याल उघारे । पूरै गाउँ उल्टेर आँगन भरिएको थियो । कोही ‘बिचरा’, कोही ‘च्वच्व’ त कोही ‘पापीहरू’ भन्दै थिए । सबै एकैचोटि बोलिरहेकाले होला मैले प्रस्ट केही बुझ्न सकिनँ । सबको बीचमा घेरिएर रोइरहेकी आइमाई झन् जोडले झन् जोडले रुन थालेपछि म दौडिएर तल झरें । म तल झर्दा अर्को टोलका बूढाकाका हातमा लालटिन लिएर आउँदै थिएँ । म भीड चिरेर त्यो रोइरहेकी आइमाईलाई हेर्न छिरें । कस्तो बुद्धु थिएँ म त्यतिबेला, आफ्नै आमा रोएको पनि मेसो पाएको थिइनँ । बूढाकाकाको लालटिनको उज्यालोमा मैले आमाको आँसुले भिजेको अनुहार देखें । भीडमा हाफ भेस्ट मात्र लगाएर जाडोले काम्दै गरेको मलाई देखेर आमाले गम्लंग अँगालो हाल्नुभो, ‘पापीहरूले बुवालाई मारे ।’

रातिमात्र म भोलिबाट स्कुल जाने सपना देख्दै सुतेको थिएँ । बाले ल्याइदिएको नयाँ किताब, नयाँ लुगा, नयाँ कापी, नयाँ कलम बोकेर आफंै पनि नयाँ भएर जाने रहरले निदाउन दिएको थिएन । बाले हप्काउन परेको थियो । बाकै डरले आमाको छातीमा डल्लो परेर म निदाएको थिएँ । Continue reading

विदेशी मित्र

यो कथा मैले सन् २००६को अन्त्यतिर लेखेको हो! समय साप्ताहिक र Y! पत्रिकामा छापिएको थियो! मैले एउटा रेस्टुरेन्टमा कसैलाई कुर्ने क्रमको झन्डै २५ मिनेट भित्रमा यो कथा लेखि भ्याएको थिए! कथा “कम्युनिष्ट” कथा संग्रहमा समावेश छ!

“तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन।

हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे।

“तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको उद्देश्य पनि मलाई चिढ्याउने हुन्थ्यो, तर म चिढिन्नथे।

सत्ते!

“ऊ मेरो प्रेमी होइन”

“भुतपूर्व त हो नि!”

“ऊ सधै दाह्री पाल्दैन।”

“मैले देख्दा त थियो नि!”

बाहिर कुकुर भुकेको सुनिन्थ्यो, भित्र हाम्रो जुधाइले विस्तारै उचाइ लिन थाल्थ्यो।
Continue reading

नाक कसरी ठाडो हुन्छ?

मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो कुमलाई उसको कुमले जित्यो। पछि त मैले नाप्नै छाडीदिए।

म एउटा घरमा काम गर्ने मान्छे थिए । घरमा एउटी आइमाई थिइन जसलाई म आमा भन्थे । आमा दुष्ट थिइनन् तर दयालु पनि थिइनन्। उनको अगाडी त म भँगेरी झै लाग्थे। उनी अग्ली मोटी खाइलाग्दी जीउ भएकी थिइन। उनी आफ्ना ठुला ठुला आँखामा सधै गाजल लाउँथिन। उनको ओठ लिपस्टीक लाएपछि सार्है् राम्रो देखिन्थ्यो, अरू बेला तिनी मलाई त्यहि ओठ चलाएर गाली गर्ने भएकाले पटक्कै मन पर्दैनथ्यो। उनी प्रायसो गाढा रातो रङ्गका लिपीस्टक लाउँथिन। उनको हातमा सधै रातो चुरा हुन्थ्यो, त्यहि चुरा बजेपछि बिहानीमा मेरा आँखाहरू खुल्थे तर उनले उठाउन नआइकन मैले आफै उठ्ने जाँगर कहिल्यै चलाइन। उनलाई म सताउँथे, एकपटकमा उठि्दनथे। त्यतिखेर उनी कस्तरी कराउँथीन्, ‘देवी’
Continue reading

बेपत्ता

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।”

“कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ?”

ऊ केही बोलेन। तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ। अब म क्रान्तिमा हिँडेँ।”

वैशाख यसै पनि गर्मी महिना। उसको कुराले मलाई लोथ बनायो। जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो। मैले उसको हात समाएँ। उसले झ्ोला भिरिसकेको रहेछ। तैपनि, सोधेँ, “के भनेको?”

“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र!
Continue reading