हाम्रो छाती र लिलामको बहादुरे

जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा भोली त्यो अझ गाढा हुनेछ!

उपन्यासको ´नायक´ बहादुरे हो । गरिब छ । भन्न त मर्ने बेलामा उसको बाउले ऋण छैन भनेको हो तर गाउँका ठालुहरूले ऋणको शीर्षकसहित तिर्नुपर्ने रकमको हिसाब सुनाए । पढेको थिएन, खोइ हेरौं त हिसाब किताब भन्न सकेन । ठालुहरूका मुख लाग्न पनि सकेन । अनि जायजेथा लिलामीको अवस्था आइलाग्यो । लिलामी हुने पक्का भएपछि माइली छोरीले आफैं बिहा नगरेकोमा उसलाई पीडा हुन्छ। स्वास्नी अरूसँग नसल्किएकोमा रिस उठ्छ । मर्न खोज्छ, त्यो पनि सक्दैन । लिलामीको बिहानीमा ठुलाबडालाई अटेर गर्न पनि उसलाई रक्सीको सहारा चाहिन्छ । जाँडले के सहारा देओस्, पछारिन्छ ।

कथा यत्ति हो, जगदीश घिमिरेको चर्चित उपन्यास ´लिलाम´ को! सरूभक्तको ´पागलवस्तीको जस्तो कथा हुँदै नभएको बस्तीको होइन । त्यसैले पाठक आख्यानकारको कल्पना भनेर तर्किन सक्दैन । हामीले बहादुरेलाई हाम्रो गाउँमा भेटेका छौं, सहरमा पनि भेटेका हुन्छौं । ऊ सहरमा अलि भिन्न रूपमा छ, केही न केही लिलाम गर्दै वा उसको केही न केही लिलाम हुँदै गरेको हुन्छ । फरक यत्ति छ, त्यतिबेला बहादुरे सामन्तवादको चपेटामा परेको थियो । अहिले बहादुरेलाई पुँजीवादले लिलामको संघारमा तानेको छ । पेटभरी खान नपाएको बहादुरेका हात आफूतिर पुँजीवादलाई तान्न सक्ने जति दह्रा छैनन्। उसकी छोरी यतिबेला काठमाडौंमा यौनकर्मी हुन्थी होली। स्वास्नी पनि आफूलाई बिकुन्जेल बेच्थी होली । बहादुरे के गर्थ्यो होला? देशमा उद्योग बिनाको दलाल पुँजीवाद छ, बहादुरेको भुमिका निःसन्देह दलालको हुन्थ्यो होला! छोरी र स्वास्नीको लागि स्वयं ग्राहक खोज्थ्यो होला ।

लिलाम पढ्ने क्रममा नै तीन बर्ष अगाडी भनेजस्तो जागिर नपाएर कतार भासिएको मेरो साथीसँग मेरो इमेल वार्ता चलिरहेको थियो । उसले दुई महिना अघि लेखेको थियो, ´म यतैबाट अमेरिका जाने प्रक्रिया मिलाउँदैछु । ग्रीन कार्ड नलिई म नेपाल आउँदिन´ अमेरिकाको आर्थिक मन्दीले नेपालीलाई केही फरक पार्दैन । भाडा माँझ्नु हो, पैसा डलरमा आउँछ । मन्दी नै भएपनि नेपालमा त्यसको दर सत्तरीभन्दा माथीको अंकले गुणन गरेर निकाल्नुपर्छ । उसको अमेरिका हान्निने कुरापछि बन्द भएको वार्ता उसले म, अर्थात पत्रकार साथीलाई लेख्यो, ´के हो समाचारमा त भारतले नेपालको सीमा मिचेको पढ्दैछु नि!´ मैले मेरो विदेसिएको साथीलाई थप सूचना नदिई लेखे, ´तिमी अमेरिका जाने सुरमा छौ, यस्ता कुराले तिमीलाई के?´ उसले नेपाली मात्र भएर नेपालीलाई जम्मा तीन शब्द लेख्यो, ´छाती दुख्छ बुझ्यौ!’
Continue reading