बालाई चिठी

बा,
नमस्कार गरेँ
सन्चो बिसन्चो सोधनी गरेँ
चिठीमा मैले मनको बह पोखेकी छु
धैरै धेरै गुनासाहरू पोखेकी छु

बा,
म एउटा ठूलो सहरमा छु
झिलिमिली बत्ती बल्ने सहरमा
ठूला ठूला कारखाना भा’को सहरमा
ठूला ठूला घर भा’को सहरमा
तर यहाँ मान्छे बस्दैनन्
म त गिद्धै गिद्धै भा’को सहरमा छु

बा,
मलाई स्कुल हाल्द्या भए
भाइसँगै स्कुल पठाइद्या भए
भान्छामा मात्र नराख्या भए
देश विदेश देखाइद्या भए
समय परिस्थिति बुझाइद्या भए
ओहो
आज म पढेकी हुन्थेँ
केही बुझेकी हुन्थेँ
सही गलत मान्छे चिन्न सक्थेँ
स्वाभिमानी हुन्थेँ

तर,
तपाईलाई त म जन्मने बित्तिकै खेद भो
न्वारानदेखि नै मलाई भेद भो
गाउँमा जन्मिएकी
अज्ञानको कुहिरोमा रूमल्लिएकी
म कुवाको भ्यागुता झैँ भएँ
सपन त मेरा पनि थिए
तर, तपाईलाई सुनाउँदा
पोथी बास्नुहुन्न भन्नुभयो
सपना बिर्सन सकिन
राम्रो लाउने, मीठो खाने, जागिरे बन्ने !
एउटा झिल्के भेटियो
कसो कसो मख्ख परियो
उसकै पछि तपाईलाई नसोधी
म धैरै पर आइपुगेँ
बा, म धैरै पर आइपुगेँ

बा,
हुन त तपाई पनि लोग्ने मान्छे
अन्यथा नलिनु होला
तर यो जात नरभक्षी हुँदोरहेछ
लड्दा लड्दा नथाक्ने यिनीहरू
पैसाको लागि जे पनि गर्छन्
मर्छन्, मार्छन्
आफू पनि बेचिन्छन्
अरूलाई पनि पशुजस्तो बेच्छन्
म पनि बेचिएकी छु
दिनदिनै लुछिन्छु
चुडिन्छु
खै बा
तपाईलाई के भन्ने ?
तपाई नै घरको मालिक हुनुहुन्थ्यो
जे चाह्यो त्यहि गर्न सक्नुहुन्थ्यो
ममाथि दया नै गद्या भए पनि हुन्थ्यो
मलाई पढाइद्या भए हुन्थ्यो

खै बा,
कसलाई सोध्याछु भनौँ-
मेरो नाम सुन्दा थुक्ने थुप्रै होलान्
खै तिनीहरूलाई के भनौँ ?
भनेर म थाक्छु तिनीहरूले के बुझ्लान् ?
खैर समय बितीसक्यो
म लुछिसके
चुडिसके
बाँच्ने समय पनि सकिसक्यो
तर बा,
छोरी मरी नभन्नु होला
पाप लाग्छ
त्यो बहिनीलाई स्कुल पठाउनु होला
समय परिस्थीती बुझाउनु होला।

One thought on “बालाई चिठी”

Leave a Reply to lava kafle Cancel reply

Your email address will not be published. Required fields are marked *